अब प्रसाई के गर्लान ?

काठमाडौं,१८ चैत । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका संयोजक दुर्गा प्रसाई करिब २० दिनको भारत भ्रमणपछि आइतबार स्वदेश फर्किए । काठमाडौँ उत्रनासाथ उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्साहका साथ सञ्चारकर्मीहरुमाझ प्रस्तुत भए ।

उनी पत्रकार सम्मेलनमा उत्साहित हुनुको कारण थियो, १३ वर्षदेखि अल्झिएको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजले सम्बन्धन पाउने बाटो खुल्नु । उनी भारतको मुम्बई र दिल्ली रहेकै बेला सर्वोच्च अदालतले बीएण्डसी मेडिकल कलेजलाई सम्बोधन दिन आदेश दिएको थियो । अदालतले बुधबार प्रसाईंको अर्बौँ लगानी भइसकेको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको थियो । न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको संयुक्त इजलासले प्रक्रिया पुगेको भए बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन नरोक्न आदेश जारी गरेसँगै प्रसाईंले दुई योजना सुनाउन भ्याएका छन् ।

पत्रकारहरुसँग उनले भने, ‘अब मसँग पैसा पनि हुन्छ, लडाइँ पनि गर्छु ।’ तर अहिलेसम्म तपाईंले सम्बन्धनकै लागि यो सबै गर्नुभएको भन्ने आरोप छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘सम्बन्धनको लडाइँ आफ्नो ठाउँमा छ । यो भनेको राष्ट्र बचाउने हो । देश बचाउने हो । भूइमान्छे बचाउने हो ।’ राजनीतिक दलका नेताहरुले नबोलेका कारण आफू गरिबको पक्षमा बोलेको उनको दाबी छ । अभियानअनुसार जुम्लामा २२, दाङमा २४ गते र इलाममा ६ गते कार्यक्रम रहेको बताए । उनले आफूलाई राज्यले पक्राउ गर्न खोजेको आरोप लगाउँदै पक्रेर देखाउन चुनौती समेत दिए ।

सोही क्रममा प्रसाईंले आफूले बैंकबाट लिएको सबै ऋण तिर्ने पनि बताएका छन् । उनले आफूले कहिल्यै पनि बैंकको ऋण तिर्दिनँ नभनेको जिकिर गरे ।

प्रसाईंले भने, ‘एफिलेसन आयो, कलेज चल्छ, म बैंकको पैसा तिर्छु । मैले बैंकको पैसा तिर्दिनँ भनेर कहिल्यै भनेको छैन । तिमीले ७ प्रतिशत ब्याज किन १७ प्रतिशत बनायौँ ? गरिबको ऋण तिरिदेउ न सरकार पो भनेको ।’

प्रतिक्रिया दिनुहोस्