जर्मनीका डिफेन्डर जेरोम बोटेङले विश्वकप गुमाउने सम्भावना
एजेन्सी । जर्मनी तथा बायर्न म्युनिखका डिफेन्डर जेरोम बोटेङले आगामी जुन महिनादेखि रुसमा हुने फिफा विश्वकप २०१८ गुमाउन सक्ने सम्भावना बढेको छ । बुधबार युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा रियल म्याड्रिडविरुद्ध खेल्दा उनी चोट ग्रस्त बनेका थिए ।
२९ वर्षीय बोटेङ खेलको पहिलो हाफमै चोट बोक्दै बाहिरीएपछि उनको स्थानमा निक्लास सुल मैदान प्रवेश गरेका थिए । उनले सिजनका बाँकी सबै खेल गुमाउने बायर्न म्युनिखले जनाएको छ । यससँगै उनले केहि सातापछि हुने विश्वकपमा खेल्ने सक्नेबारे पनि शंका पैदा भएको छ । उनको दायाँ तिघ्राको मांशपेशीमा चोट लागेको र उक्त चोट ठिक हुन ४ देखि ६ साता लाग्ने बुझिएको छ ।
यस चोटसँगै उनले बायर्नको सिजनको अन्तिम खेल गुमाउने पक्का भएको छ । बायर्नले मे १९ मा जर्मन कपको फाइनल खेल्दैछ भने च्याम्पियन्स लिगको फाइनल पुगेमा खेल २६ मे मा हुनेछ । उनले दुवै खेलमा पुनरागमन गर्न नसक्ने क्लबले जनाएको छ । जर्मनीका प्रशिक्षक जोकिम लोले विश्वकप खेल्ने जर्मनीको प्रारम्भिक टोली मे १५ मा सार्वजनिक गर्ने बताएका छन् । यद्यपी फिफाले जुन ४ तारिखलाई मात्र अन्तिम औपचारिक मिति तोकेको छ ।
प्रतिक्रिया दिनुहोस्