भारतमा आजदेखि ‘टि प्लस जिरो’ सेटलमेन्ट प्रणाली सुरु, नेपालमा कहिले ?

काठमाडौं,१५ चैत । भारतको पुँजी बजार नियामक निकाय ‘सेक्युरिटिज एन्ड एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी)’ ले आजदेखि सेयर खरिदबिक्री गरेकै दिन राफसाफ हुने ‘टि प्लस जिरो’ प्रणाली सुरु गरेको छ ।

सेबीको मार्च १५ मा बसेको बैठकले ‘टि प्लस जिरो’ सेटलमेन्ट प्रणालीको बीटा संस्करण (भर्सन) लाई वैकल्पिकरुपमा सुरु गर्न अनुमोदन गरेको थियो ।सेबीले बिहीबारदेखि सेयर कारोबारको राफसाफमा ‘टि प्लस जिरो’ सेटलमेन्ट साइकललाई विकल्पको रुपमा प्रयोग गर्नसक्ने बताएको छ । सरोकारवालाहरुको प्रतिक्रियालाई ध्यानमा राख्दै सेबीले २५ वटा सीमित सेयरमा र सीमित धितोपत्र दलालहरुमार्फत मात्रै ‘टि प्लस जिरो’ को बीटा संस्करणको सुरुवात गरेको छ । सेयर खरिदबिक्री गरेकै दिन सेटलमेन्ट हुने यो साइकललाई अनिवार्य भने गरिएको छैन ।

यससँगै सेबीले बीटा संस्करणका प्रयोगकर्ताहरु सहित थप सरोकारवालाहरुसँग परामर्श गर्न जारी राख्ने जनाएको छ । बीटा भर्सन वैकल्पिकरुपमा कार्यान्वयनमा आएको मिति अर्थात मार्च २८ बाट ३ महिना र ६ महिनाको अन्त्यमा प्रगति समीक्षा गर्नेछ र थप कारबाहीका लागि निर्णय गर्ने सेबीको भनाई छ । भारतीय सेयर बजारमा अहिलेसम्म ‘टि प्लस वान’ सेटलमेन्ट साइकल लागू भइरहेको छ ।

सेबीले टि प्लस वान कारोबार राफसाफ अवधि सन् २०२१ मा सार्वजनिक गरेको थियो । यस साइकल विभिन्न चरणमा लागू गरिएको थियो । अन्तिम चरण सन् २०२३ को जनवरी मा पूरा भएको थियो । ‘टि प्लस जिरो’ साइकल अब ‘टि प्लस वान’ सँगै विकल्पको रुपमा प्रयोग हुनेछ ।

नेपालमा छिमेकी मुलुकमा ‘टि प्लस जिरो’ मा कारोवार राफसाफ अवधि लागू हुँदा नेपाल भने टि प्लस तीन राफसाफ प्रणाली पनि रामो संग कार्यान्वयनमा आउन सकेको छैन । हाम्रो पुँजी बजार नियामक निकाय धितोपत्र बोर्डमा इच्छा शक्ति भएको नेतृत्वमा पाउन सकेको छैन । बजारलाई गतिशिल बनाउने नेतृत्व नआएसम्म पूँजि बजारले चामत्कारिक विकाश गर्न सक्दैन । नेपालमा सेयर खरिदबिक्री गरेकै दिन राफसाफ हुने प्रणाली कहिले आउछ शेयर बजारका लगानीकर्ता त्यो दिनको पर्खाइमा छन् ।

प्रतिक्रिया दिनुहोस्