कांग्रेस महामन्त्री थापाले संवाद यात्रा’ आजदेखि पुनः सुरु गरे

काठमाडौं, १५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘संवाद यात्रा’ आजदेखि पुनः सुरु गरेका छन् । गत माघ २३ मा स्थगित भएको संवाद यात्रा नवलपरासीको सूर्यपुरास्थित प्रतापपुर गुठीबाट पुनः सुरु गरेका हुन् ।

१३ माघबाट झापाबाट सुरु भएको उनको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो । बुढाथोकीको २२ माघमा मृत्यु भएपछि संवाद यात्रा नवलपरासीको गोपीगञ्जबाट रोकिएको हो । स्थगित हुनु अघि १३ जिल्लामा महामन्त्री थापाले संवाद यात्रा गरेका थिए । १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो । यस यात्रा नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेमा संवाद यात्रा गरिने छ । १८ गते संसद बैठक भएकाले संवाद यात्रा १७ गतेसम्म हुने गरी कार्यतालिका बनाइएको छ ।

पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो । पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो । बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन ।

खुला र समूहगत छलफल, निर्दिष्ट भेटघाट, सेवा प्रवाहको अवस्था, अवलोकन भ्रमणलगायत माध्यमबाट नागरिकसँग संवाद गर्ने गरी पार्टीले ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको थियो । यो संवाद यात्राले नेपाली काँग्रेसले जनताता समस्या र नागरिकको अवस्थाको विषयमा विशेष संवाद गर्ने छ । त्यसलाई पार्टी केन्द्र र संसदमा पनि विशेष उठान गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्