गौतमश्री बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं,१४ चैत । गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले यस संस्थालाई समस्याग्रस्त घोषणा गरेको हो ।

गौतमश्री सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य र मान्यता विपरीत कार्य गरी बचतकर्ता सदस्यको बचत फिर्ता नगरेको पाईएपछि सहकारी ऐन अनुसार समस्याग्रस्त घोषणा गरेको मन्त्रालयले जनाएको छ ।

हालका दिनमा एकपछि अर्को गर्दै धेरै ठूला चुक्ता पूँजि भएका सहकारी संस्था सरकारले समस्याग्रस्त घोषणा गर्दै आएको छ । त्यसैको पछिल्लो कारवाहीस्वरुप यो घोषणा गरको हो । संचालकहरुले संस्थाको रकम निजी स्वार्थमा नियम विपरीतको प्रयोगले यस्तो अवस्था आएको हो ।

सहकारी ऐन, २०७४ को दफा १०४ को उपदफा (१) को खण्ड (क)देखि (च) सम्मको अवस्था विद्यमान रहेको देखिएकोले सहकारी विभागका रजिष्ट्रारको प्रस्ताव उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको हो । सहकारी ऐनको दफा १०४ को उपदफा (२) बमोजिम उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानी सम्बन्धी कार्य गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइएको मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्