बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारको नाममा आयो

काठमाडौँ, ९ चैत। मालपोत ऐन २०२४ अनुसार बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सरकारले आफ्नो स्वामित्वमा ल्याएको छ।

शुक्रबार भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याउन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही दिनअघि निर्देशन दिएका थिए।

केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा जग्गा ल्याइएको जानकारी दिइएको हो।

बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले व्यवसायी अरूण चौधरी, कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह थापा र सञ्जय ठाकुरलाई माघ १८ गते पक्राउ गरेको थियो।

सोही प्रकरणमा सिआइबीले सांसद विनोद चौधरीसँग पनि बयान लिएको थियो।

प्रतिक्रिया दिनुहोस्