संविधानअनुसार महिलाको प्रतिनिधित्व न्यायालयमा छैनः पूर्वप्रधानन्यायाधीश सुशीला कार्की
काठमाडौँ, ९ चैत। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले न्याय क्षेत्रमा संविधानअनुसार महिलाको प्रतिनिधित्व नभएको बताएकी छन् ।
शुक्रबारबाट ललितपुरमा सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
कार्कीले न्यायालयमा संविधानमा व्यवस्था भएअनुसार महिलाको प्रतिनिधित्व हुन आवश्यक रहेको बताइन् । ‘पहिलेभन्दा न्याय क्षेत्रमा प्रवेश गर्न चाहने महिलाका लागि वातावरण त सहज बनेको छ,’ उनले भनिन्, ‘तर संविधानअनुसार प्रतिनिधित्व अझै पनि भएको छैन, राज्यले यसमा विशेष ध्यान दिन जरुरी छ ।’
पूर्वप्रधानन्यायाधीश कार्कीले यो सम्मेलन नेपालमा महिला न्यायाधीशहरूको वृद्धि विकासका लागि ठूलो आयाम बन्नेमा विश्वास व्यक्त गरिन् । कार्कीले आगामी दिनमा महिला न्यायाधीशहरूले न्यायको क्षेत्रमा झनै उल्लेख्य अवसर पाउने तथा कार्य सम्पादन पनि अझै राम्रो हुनेमा विश्वस्त रहेको बताइन् ।
शुक्रबार सुरु भएको महिला न्यायाधीशहरूको प्रथम राष्ट्रिय सम्मेलन दुई दिनसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस्