ओलीलाई पनि समाजवादी मोर्चामा मिसाउन विप्लवको ठुलो कसरत

काठमाडौँ, ९ चैत। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा आबद्ध हुन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अनुरोध गरेका छन्।

बिहीबार साँझ ओली निवास बालकोटमा पुगेका विप्लवले एमालेलाई पनि मोर्चामा आबद्ध हुन अनुरोध गरेका हुन्। विप्लव अहिले समाजवादी मोर्चाका अध्यक्ष रहेका छन्।

‘सबै कम्युनिष्ट घटकहरूलाई एकताबद्ध गर्ने मोर्चाको घोषित नीति नै हो,’ भेटबारे विप्लवले भने, ‘हामीले केपीजीलाई पनि मोर्चामा आउन अनुरोध गरेका छौं, उहाँले छलफल गरौंला नि भन्नुभएको छ।’

ओलीले सकरात्मक प्रतिक्रिया दिएपछि विप्लवले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि छलफल गरेका छन्।

उनले बलियो कम्युनिष्ट शक्ति बनाउनका लागि एमालेलाई पनि मोर्चामा आबद्ध गराउनुपर्ने आफ्नो धारणा रहेको र त्यसका लागि ओलीसँग छलफल गर्न प्रचण्ड र माधव नेपालसँग अनुरोध गरेको बताए।

मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी आबद्ध छन्।

ओलीसँगको भेटमा अहिलेको सत्ता गठबन्धन तुलनात्मक रूपले राम्रो भएको र यसमा अरू दलहरूलाई पनि सहभागी गराएर बृहत गठबन्धन बनाउनुपर्ने विषयमा पनि छलफल भएको नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्माले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्