हुण्डी कारोबारको आरोपमा ४ जना पक्राउ, साथै सम्पत्ति शुद्धीकरणको मुद्दा

काठमाडौँ, ८ चैत। हुण्डी कारोबारको आरोपमा पक्राउ परेका ४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । सम्पत्ति शुद्धीकरण विभागले बुधबार विशेष अदालतम ४ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

हुण्डी कारोबारको आरोपमा पक्राउ परेका नरेश अग्रवाल, दीपकश शाह ठकुरी, मनमोहन साह कलवार र दिवस कार्कीविरुद्ध मुद्दा दायर भएको छ ।

राजश्व अनुसन्धान विभागबाट समेत अमेरिकी डलर र नेपाली रुपैयाँको स्रोत नखुलेको भन्दै उनीहरुलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान गरेर चारै जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । जसमा नरेश अग्रवालले ८ करोड ६२ लाख ८५ हजार १५२ रुपैयाँको कारोबार देखिएकोले सोही बमोजिम बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

अर्का प्रतिवादी दिवस कार्कीविरुद्ध ७ करोड १२ लाख २० हजार २९२ रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको छ ।

प्रतिवादी दीपक शाह ठकुरीले ८ करोड ८२ लाख ३९ हजार ५६५ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको भन्दै सोही बमोजिम बिगो मागदाबी गरिएको छ ।

मनोहर साह कलवारको हकमा ३ करोड ७५ लाख २९ हजार ८१५ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

उनीहरुले सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा ३० को उपदफा (१) बमोजिम कसुर गरेको भन्दै बिगाको दोब्बर जरिवाना समेत मागदाबी गरिएको छ ।

त्यस्तै नरशे अग्रवालको नाममा दर्ता भएको बा१९च १०१७ नम्बरको १ थान सवारी साधन तथा प्रतिवादीहरुबाट बरामद भएका रकम समेत जफतका लागि मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्