सिमसिमे वर्षाले जनजीवन अस्तव्यस्त

काठमाडौं, ७ चैत । नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका कारण काठमाडौंमा वर्षा भएको छ । काठमाडौंमा आज बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।

यस्तो अवस्था भोलिसम्म रहने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिम नेपालमा कम छ ।

वर्षाका कारण कामकाजमा हिँड्नुपर्नेहरु समस्यामा परेका छन् । पैदल हिँड्नुपर्ने, साइकल तथा मोटरसाइकल चलाउनेहरु वर्षाका कारणले अस्तव्यस्त भएका छन् ।

क्याम्पस जाने र फर्किने क्रममा कतिपय छात्रछात्राहरु पानीमा रुझ्दै र साथीको छातामा ओत लागेर हिँडिरहेका थिए । साइकलमा सामान बोक्ने, फुटपाथमा ब्यापार गर्ने र ट्राफिक प्रहरीहरु पनि पानीले गर्दा आफ्नो काममै जुट्न कठिन भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाका अनुसार काठमाडौंमा आज र भोलि छिटपुट वर्षा हुने सम्भावना रहेको छ ।

उनले गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रुपमा कम बदली हुने बताए । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडोको महसुस पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्