जात्राबाट शुरु भएको यात्रा महाजात्रा पछि पनि अघि बढ्ला ?

काठमाडौं, ५ फागुन । प्रदीप भट्टराईको लेखन एवं निर्देशन रहेको फिल्म महाजात्रा आउँदो शुक्रबारदेखि एकसाथ प्रदर्शनमा आउँदैछ।

यो व्यवसायिक रूपमा सफल र समीक्षात्मक रूपमा राम्रो प्रतिक्रिया पाएको फिल्म जात्राको तेस्रो शृंखला हो। फिल्म क्षेत्रमा सफल फिल्मको नयाँ शृंखला निर्माण गर्ने परिपाटी बढ्दै गएको छ ।

नाइँ नभन्नू लु, कबड्डीुु, छक्का पञ्जा जस्ता फिल्महरू त्यसका उदाहरण हुन्। जात्रा शृंखलाको जात्रै जात्रा हुँदै महाजात्रासम्म आइपुगेको हो।

फिल्मका निर्देशक भट्टराईले व्यवसायिक सफल भएकै भरमा सिक्वेल वा शृंखला बनाइहालौं भन्ने आफूलाई नलाग्ने बताए। खाली उत्कृष्ट कथामा, उत्कृष्ट प्रस्तुती सहित सम्पूर्ण दर्शकको मन कसरी खिच्न सकिन्छ भनेर बढी मात्रामा ध्यान दिइन्छ र त्यही अनुसार सबैभन्दा पहिला कथामा भयंकर मेहनत गर्न मन लाग्छ ।

जात्रै जात्रा निर्माण भएको पाँच वर्षपछि महाजात्रा निर्माण गरिएको बताउँदै उनले भने, पाँच वर्षको अन्तरमा पनि बनाउँछौं भन्ने थिएन। एउटा त्यस्तै खालको आइडिया आएपछि बनाएका हौं। यसपछि अगाडि अर्को शृंखला बनाउने भन्ने त अहिले सोचेकै छैनौं। यद्यपि दर्शकहरुको कस्तो प्रतिक्रिया प्राप्त हुन्छ, दर्शकले फिल्मलाई कसरी लिनुहुन्छ ? तत्पश्चात मात्र भन्न सकिन्छ ।

भविष्यमा अर्को शृंखला बन्दैन भनेर अहिले ठोकुवा गर्न भने नसक्ने भट्टराईले बताए। भविष्यमा कुनै दिन त्यस्तै गज्जब खालको कथा, आइडिया आयो । जात्राकै पात्र, सेटिङ र कथा भन्ने तरिकालाई लिएर बनाऔं भन्ने भयो भने नबनाउने भन्ने पनि होइन। तर यो राम्रो भयो बनाइहालौं भन्ने खालको सोच चाहिँ छँदै छैन,ु खाली फिल्म बनाउनका लागि मात्र हामी फिल्म बनाउँदैनौ उनले भने।

२ घण्टा ३५ मिनेटको फिल्म महाजात्रालाई कमेडी, ड्रामा जनरामा राखिएको छ। फिल्ममा अघिल्लो शृंखलाकै कलाकारहरू विपीन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झाका साथमा यसपटक हरिवंश आचार्यसमेत जोडिएका छन्। यो निर्माण घोषणादेखि नै प्रतीक्षित मानिएको फिल्म हो।

प्रतिक्रिया दिनुहोस्