माओवादी नेता तथा पूर्वसभामुख कृष्ण बहादुर महरा पक्राउ
काठमाडौं, ५ फागुन । पूर्वसभामुखसमेत रहेका सत्तारूढ नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन्।
सोमबार बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरिएको हो।
‘महरा सर खाना खान जानु भएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,’ स्रोतले भन्यो। महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाउने तयारी प्रहरीले जनाएको छ। महरालाई सोमबार बिहानैदेखि प्रहरीले निगरानीमा राखेको थियो।
उनलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं लैजाने तयारी गरिएको छ। महरालाई विमानस्थल पुर्याइसकिएको छ। ‘यति एयरलाइन्सको जहाजबाट काठमाडौं उहाँलाई लैजाने तयारी छ,’ स्रोतले भन्यो। महरा सुन तस्करीमा संलग्न रहेको आरोप छ।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले महरालाई पनि कारबाहीका लागि सिफारिस गरेको थियो। उनीमाथि मुद्दा चलाउनुपर्ने आयोगको निष्कर्ष छ। महराका छोरा राहुल पनि सुन प्रकरणमै पुर्पक्षका लागि थुनामा छन्।
इलेक्ट्रोनिक चुरोट (भेप) भित्र सुन लुकाएर तस्करी गरेको आरोप महरामाथि छ। ६० किलो सुन तस्करी र ९ किलो सुन तस्करीको छानबिनका लागि बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग २०८० ले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो।
जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा पुगेको छ। यसअघि सिआइबीले महरालाई ९ किलो सुन प्रकरणमा बयान कागजमात्रै गराएर छाडेको थियो। उनका छोरा राहुल महरा भने पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।
महराको चिनियाँ तस्कर दाओजिन वाङसँग पटकपटक कुराकानी भएको सिआइबीकै अनुसन्धानमा देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको ९ किलो सुन भएको भेप बरामद गरेपछि महरा बाबुछोराले पटकपटक भन्सार कार्यालय प्रमुखलाई सम्पर्क गरी छुटाउन दबाब दिएका थिए। चिनियाँ तस्कर समूहले भेप छुटाउने प्रयास गरिरहँदा विमानस्थलकै कर्मचारीहरूले भेपभित्र सुन रहेको थाहा पाएका थिए। त्यसपछि सुन चोरी गरी अर्कै भेप राखिएको थियो।
भेप नै चोरी भएको थाहा पाएपछि भन्सार कार्यालयले छानिबन गर्न सिआइबीलाई अनुरोध गरेको थियो। त्यसमा संलग्नहरूलाई पक्राउ गरेपछि महरा(बाबु छोरा र चिनियाँ तस्कर समूहबारे खुलेको थियो।
प्रतिक्रिया दिनुहोस्