राप्रपा नेता ठाकुरमोहनलाई हातपात गर्ने माथि निलम्बनको डण्डा

काठमाडौं, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका ठाकुरमोहन श्रेष्ठमाथि कार्यालयमै आक्रमण गरेकोमा तीन जना कार्यकर्तालाई निलम्बर गरिएको छ ।

गत फागुन २७ गते कार्यसम्पादन समिति बैठकबाट बाहिरिँदै गर्दा श्रेष्ठमाथि अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यकक्षबाहिर हातपात भएको थियो।

हातपातमा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई राप्रपाले निलम्बन गर्ने निर्णय गरेको छ।

अध्यक्ष राजेन्द्र लिङ्देनले हातपातमा सं‌लग्नहरूलाई आइतबार पत्र नै काटेर पार्टीबाट चार वर्षका लागि निलम्बन गरिएको उल्लेख गरेका छन्।

अध्यक्ष लिङ्देनले तीन जनालाई पदबाट निलम्बन गरेर त्यसको बोधार्थ सम्बन्धित प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति र राष्ट्रिय प्रजातान्त्रिक युनियनका अध्यक्षलाई दिएका थिए ।

‘उपर्युक्त विषयमा मिति २०८०।११।२७ गते कार्य सम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयभित्रै सांघातिक आक्रमणमा तपाईंको संलग्नता देखिएको र उक्त कार्य र व्यवहार पार्टीको हित र स्वार्थ विपरीत, गैरजिम्मेवारपूर्ण एवं अनुशासनहीन देखिएकोले राप्रपाको विधान (संशोधन सहित) २०४८ को दफा ३० (ड) बमोजिम ४ (चार) वर्षका लागि निलम्बन गर्न केन्द्रीय अनुशासन समितिले २०८०।११।३० मा सिफारिस गरेको छ,’ अध्यक्ष लिङ्देनले निलम्बन गरेको पत्रमा उल्लेख छ, ‘उक्त सिफारिसलाई केन्द्रीय कार्यसम्पादन समितिको २०८०।११।२६, २७ र २८ गतेको बैठकको निर्णय नम्बर १४ बाट अध्यक्षलाई अधिकार प्रत्यायोजन भएअनुसार चार वर्षको लागि दफा ३० (ड) बमोजिम निलम्बन गरेको व्यहोरा जानकारी गराउँछु।’

राप्रपाका एक पदाधिकारीले दिएको जानकारी अनुसार नेता श्रेष्ठमाथि आक्रमण गर्ने तीन जनालाई पार्टीले निलम्बन गरेको हो। श्रेष्ठमाथि हातपात गर्नेमध्ये बलायर उपाध्यक्ष विक्रम पाण्डेका स्वकीय सचिव पनि हुन्।

कार्यसम्पादन समितिको बैठकमा भ्रष्टाचार रोक्न पार्टीले कदम चाल्नुपर्ने विषयमा ठाकुरमोहनले कुरा राखेका थिए। त्यसक्रममा उपाध्यक्ष पाण्डेसँग भनाभन भएको थियो।

पार्टी कार्यालयमै नेता श्रेष्ठमाथि भएको हातपातको घटनालाई राप्रपाले आन्तरिक रूपमा पनि छानबिन गरेको थियो।

केन्द्रीय अनुसन्धान समितिले सिफारिसअनुसार घटनामा संलग्न रहेका तीन जनालाई चार वर्षका लागि निलम्बन गरिएको राप्रपा केन्द्रीय कार्यालयले जनाएको छ।

त्यस दिन के भएको थियो बैठकमा ?

कार्यसम्पादन समिति बैठकमा काठमाडौंको शंखरापुर नगर समिति र बाँके जिल्ला कार्यसमितिबारे उजुरी आएको भन्दै छलफल चलिरहेको थियो।

ती समितिलाई अनुशासन कारबाहीलगायत विषयमा कार्यसम्पादन समिति सदस्यहरूले धारणा राखिरहेका थिए। त्यसबेला कार्यसम्पादन समिति सदस्य ठाकुरमोहन श्रेष्ठ बोले। उनले अध्ययन गरेर मात्र यस्ता विषयमा पार्टीले निर्णय लिनुपर्ने बताएका थिए।

केहीबेरपछि बोल्ने पालो उपाध्यक्ष विक्रम पाण्डेको आयो। उनले ठाकुरमोहनप्रति लक्षित गर्दै नयाँ आएकाहरूलाई प्रशिक्षण दिनुपर्नेु भन्ने कुरा राखेका थिए।

उपाध्यक्ष पाण्डेले आफूलाई घोचपेच गरेपछि श्रेष्ठ बोले, तपाईं भ्रष्टचारी हो, के ठूला कुरा गर्नुहुन्छ?

यसपछि पाण्डे र श्रेष्ठबीच केहीबेर भनाभन भयो। पाण्डेले व्यक्तिगत रूपमा आरोप लगाएको भन्दै श्रेष्ठलाई तत्काल कारबाही गर्न अध्यक्ष लिङ्देनको ध्यानाकर्षण गराएका थिए।

नेताहरूबीच विवाद भएपछि खाना खान भन्दै बैठक स्थगित गरिएको थियो। त्यसक्रममा बैठक कक्षबाट बाहिरिँदै गरेका श्रेष्ठमाथि एक टोलीले हातपात गरेको भिडिओ नै सार्वजनिक भएको थियो।

उपाध्यक्ष पाण्डे निकटले श्रेष्ठमाथि हातपात गरेको आरोप लागेको थियो। राप्रपाले सिसीटिभी फुटेजहरू अध्ययन गरी आवश्यक कारबाही गर्ने प्रतिक्रिया दिएको थियो। घटनाको एक सातापछि राप्रपाले हातपातमा संलग्न रहेका तीन जनालाई कारबाही गरेको छ ।

प्रतिक्रिया दिनुहोस्