मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने, अनियमितता गर्नेलाई पार्टीबाट निष्कासन गर्ने : रास्वपा
काठमाडौं,४ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको छ । पार्टीमा रहेका सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ ।
पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिको आइतबार बिहान बसेको बैठक बसेको छ । बैठकले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाएर काम गर्ने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा। स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनाललाई दिइएको छ ।
आज बसेको समितिको दोस्रो बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय पनि गरेको ढकालले बताए ।
राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने, र मेरिटोक्रेसीलाई प्रधान मान्ने लगायतका निर्णय गरेको ढकालले जानकारी दिए । यस्ता खालको नियुक्तिमा जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढाइने कुराको जानकारी महामन्त्री ढकालले दिए ।
प्रतिक्रिया दिनुहोस्