चिनियाँ सुन तस्करसँग पूर्वउपराष्ट्रपति पुनका सल्लाहकारको गहिरो साँठगाँठ, मुद्दा चलाउन सिफारिस

काठमाडौं, २ चैत्र । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका परराष्ट्र सल्लाहकार जीवन गुरुङको चिनियाँ सुन तस्करसँग निकट सम्बन्ध देखिन आएको छ ।

भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँग उनको बाक्लो उठबस रहेको फेला परेको छ ।

सुन तस्करीबारे छानबिन गर्न पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको उच्चस्तरीय समितिले गरेको जाँचमा यो तथ्य फेला परेको थियो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार, गुरुङ, चिनियाँ तस्करी वाङ र पूर्वसभामुख कृष्णबहादुर महराबीच पटक–पटक भेटघाट भएको तथ्यसमेत फेला परेको थियो ।

यसपछि आयोगले गुरुङ र महरालाई समेत सुन तस्करीमा मुद्दा चलाउन सिफारिस गरेको छ । गुरुङलाई विमानस्थल भन्सारको सिफारिसमा सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो । भन्सारले अनुसन्धान गरेर उनीविरुद्ध रायसहितको प्रतिवेदन अदालतमा बुझाएको छ । गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्