सरकारी वकिल पनि सन्दीप विरुद्धको बलात्कार मुद्दामा उच्चअदालत
काठमाडौं, १ चैत्र । बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग राखी सरकारी वकिलले पनि उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिएको छ ।
जिल्ला अदालत काठमाडौंले आफ्नो माग दाबीभन्दा कम सजाय तोकेको भन्दै उच्च सरकारी वकिल कार्यालयले लामिछानेलाई अधिकतम सजाय हुनुपर्ने माग गर्दै पुनरावेदन निवेदन दिएको हो ।
बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दीपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।
सरकारी वकिलले भने पीडित बालिका रहेको दावीसहित सन्दीपलाई १३ वर्ष कैद सजायको मागदाबी गरेको थियो ।
आफ्नो मागदावी बमोजिम सजाय नभएको, पीडितलाई बालिग ठहर गरी कम सजाय भएको भन्दै जिल्ला अदालतको फैसला खारेज हुनुपर्ने माग राखेर सरकारी वकिलको कार्यालय उच्च अदालत पाटन पुगेको स्रोतले बताएको छ ।
क्रिकेटर लामिछानेले पनि जिल्ला अदालतको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दिइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्