वीरेन्द्रनगर क्षेत्रमा डोजर चलेपछि तनाव, तीनजना सामान्य घाइते

काठमाडौं, ३० फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–६, को हटियालाइन, हङकङ बजार र गोदामलाइन क्षेत्रमा नगरपालिकाको डोजर चलेपछि अवस्था तनावग्रस्त बनेको छ । सार्वजनिक जमिनमा सटर लगाई बसेका व्यवसायीहरुको सटरमा डोजर चल्न थालेपछि व्यवसायीहरुले ढुङ्गामुढा प्रहार गरेका हुन् । नगरपालिकाले सुरुमा हटियालाइनतर्फबाट डोजर चलाउन सुरु गरेको थियो ।

सुरुको पसलमा डोजर चलाएपछि व्यापारीहरुले डोजरमाथि ढुङ्गामुढा प्रहार गरेका हुन् । व्यवसायीको ढुङ्गा प्रहारबाट नगरपालिकाको डोजरको सिसा पूर्ण रुपमा फुटेको छ भने चालक लगायतका तीनजना सामान्य घाइते भएका हुन् ।

अवस्था तनावग्रस्त बनेपछि त्यहाँ नजिकै आएको प्रहरीको गस्तीले कुनै एक्सन लिएन । नगरपालिकाका कर्मचारीहरुले सहयोग माग्दा पनि माथिको आदेश नआएको भन्दै प्रहरी मुकदर्शक बनेर हेरिरह्यो । त्यसपछि नगरपालिकाको टोली ब्याक हुनुपर्यो । नगरपालिकाका एक कर्मचारीले भने, ‘हामीमाथि ढुङ्गामुढा हान्दा पनि शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी मुकदर्शक बन्न मिल्छ ?’

घटनास्थलमा खटिएका प्रहरीहरु भने माथिबाट कुनै आदेश नआएको र माथि नै सोध्न आग्रह गर्दछन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक रुपेश खड्काले घटनाबारे अनभिज्ञता प्रकट थरे । उनले आफू बुझिरहेको बताए । प्रहरी किन मुकदर्शक ? भन्ने प्रश्नमा उनले भने, ‘त्यस्तो त हुन नपर्ने हो के भएछ म बुझ्छु ।’

नगरपालिकाले सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरे पनि व्यवसायीहरूले अटेर गरेपछि आफैँले डोजर चलाउन सुरु गरेको छ शनिबारदेखि व्यवसायीहरु आर्थिक मन्दीका बिचमा कुनै विकल्प नदिएको भन्दै आन्दोलनमा थिए । तर, नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल जसरी भए पनि जग्गा खाली गराइछाड्ने अडानमा थिइन् ।

आज बिहानैदेखि नगरपालिकाले डोजर लगायत कर्मचारी तयारी अवस्थामा राखेपछि व्यवसायीहरु सामान उठाउन थालिरहेका थिए । डोजर चल्नुपुर्व पनि केही समय सामान उठाउन दिन आग्रह गरिरहेका थिए । तर, डोजर चलाउन सुरु गरेपछि प्रतिकारमा उत्रिएका हुन् ।

नगरले अहिले हटाउन थालेको स्थानमा १२५ जना साना व्यवसायीहरूले व्यापार गरिरहेको छन् । यता नगरप्रमुख मोहनमाया ढकालले सिडिओसँग कोडिनेशन गरिरहेको बताइन् । अहिले पनि नगरका कर्मचारीहरु डोजरसहित घटनास्थलभन्दा केही माथितिर उभिरहेका छन् भने प्रहरी पनि त्यहाँ तैनाथ छ ।

प्रतिक्रिया दिनुहोस्