प्रचण्ड र ओली माधव नेपाललाई १५ महिना प्रधानमन्त्री बनाउन सहमत

काठमाडौं, २९ फागुन । सत्ता साझेदार पाँच दलबिच मंगलबार बिहान सात बुँदे सहमति भयो । जसमा यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिको एक बुँदा हटाइयो । चार दलबिच फागुन २१ गते भएको सहमतिको दोस्रो बुँदामा राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्र र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवारलाई समर्थन गर्ने उल्लेख थियो । तर एक सातापछि एक दल थपिएर मंगलबार एक बुँदा घटाउँदै दलहरूबिच भएको सात बुँदेमा उपाध्यक्ष पदबारे कतै उल्लेख गरिएको छैन ।

एकातिर सत्ता साझेदार दलमा औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी थपिनु र यसअघि भएको उपाध्यक्ष पदबारेको बुँदाप्रति केही नखुलाइनुले एमालेबाट उपाध्यक्ष पद एकीकृत समाजवादीलाइ दिएको बुभ्न सकिने नेताहरूको भनाइ छ ।

नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका नेता राजेन्द्र पाण्डेले आठ बुँदेबाहेक अरू सहमति नभएको दाबी गरेका छन्। यद्यपि उनले सत्ता साझेदार दलमा आफ्नो पार्टी थपिएको र यसअघि चार दलबिचको सहमतिमा रहेको उपाध्यक्ष पदबारे पछिल्लो सहमतिमा केही नबोलिएकाले शीर्ष नेताबिच राष्ट्रिय सभाको उपाध्यक्ष पद एकीकृत समाजवादीको भागमा परेको कुरा बुझ्न कठिन छैन ।

‘ठ्याक्कै यही हो भन्ने त मलाई जानकारी भइसकेको छैन । तर घटनाक्रम हेर्दा त्यस्तै बुझिन्छ’, पाण्डेले संकेत गर्दै भने, ‘त्यो तपाईँहरूले बुझ्ने कुरा भयो ’

पाँच दलले गरेको सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन् ।

जसमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” को नेतृत्वमा पुनर्गठित वर्तमान सरकारलाई सुदृढ र सफल पार्ने र राष्ट्रिय सभाको रिक्त रहेको अध्यक्ष पदमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई समर्थन गर्ने उल्लेख छ । सोही अनुसार एकीकृत समाजवादीले राष्ट्रिय सभाको अध्यक्षमा माओवादीका उम्मेदवारलाई मतदान गरिसकेको छ ।

यसअघि अध्यक्ष माधवकुमार नेपालले फेरिएको सत्ता समीकरणलाई समर्थन गर्नुपर्दा पावर सेयरिङमा आफू एक वर्ष प्रधानमन्त्री र कुनै प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दै आएका थिए । नेता नेपाललाई मनाउन नसकिए वर्तमान सत्ता गठबन्धन नै धरापमा पर्ने भएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले नेता नेपाललाई प्रधानमन्त्री बनाउन मौखिक रूपमा ग्रिन सिग्नल दिएकै कारण सात बुँदे सहमति बनेको नेताहरूको बझाई छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार मंगलबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबिच बालुवाटारमा भएको छलफलमा प्रचण्ड र ओली नेपाललाई प्रधानमन्त्री बनाउन लचक बुझन सकिन्छ ।

‘ग्रिन सिग्नल दिएकैले सहमति भएको हो । नत्र उनीहरूलाई मात्र प्रधानमन्त्री बनाउन किन सहमति गर्न जरुरी थियो र ?’, माधव नेपाल निकट ती पदाधिकारीले भने, ‘सबै कुरा लिखित सहमति गर्नू राम्रो नहुने भएकाले पनि लिखत सार्वजनिक नगरिएको हो ।’उनका अनुसार मंगलबार बिहान बालुवाटारमा तीन नेताबिच भएको कुराकानीमा प्रचण्ड, ओली र नेपाल बाँकी अवधिमा १५ महिनाका दरले आलोपालो प्रधानमन्त्री बन्नेगरी सहमति जुटेको हो । प्रतिनिधिसभाको कार्यकाल अब करिब ४५ महिना बाँकी छ ।

‘अबको बाँकी समय तीन नेताबिच १५ महिनाका दरले प्रधानमन्त्री बन्ने सहमति भएको हो’, ती नेताले भने, ‘यसो गर्दा माधवजीलाई पनि न्याय नै हुन्छ भनेर ओली र प्रचण्डले भनेको कुरा आएको छ ।’

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले एमाले सत्ता साझेदार दलको विश्वास जित्न उच्चस्तरको सहमति कायम गर्न तयार भएको बताए । उनले माधव नेपाललाई १५ महिना प्रधानमन्त्री दिन प्रचण्ड र ओली नै तयार भएको संकेत गर्दै उनले भने, ‘एमाले सहयात्री दलहरूको विश्वास जित्दै अगाडि बढ्न तयार छ । त्यसका लागि यो गठबन्धन जोगाउन र सरकारलाई सहज ढंगले अघि बढाउन मिल्नेसम्मका सहमतिमा विमति जनाउँदैन ।

कांग्रेससहितको अघिल्लो गठबन्धनमार्फत प्रधानमन्त्री बन्ने सम्मुखमा सत्ता समीकरण नै परिवर्तन भएपछि विलखबन्धनमा परेका नेता नेपालले बदलिएको सत्ता समीकरणलाई सहयोग गर्न र सरकारमा सहभागी बन्न विभिन्न सर्त अघि सारेका थिए । यद्यपि मौखिक आश्वासनमार्फत फागुन २३ गते नै विस्तारित मन्त्रिमण्डलमा दुई मन्त्री पठाएको एकीकृत समाजवादीले अघि सारेका केही मागसहित केन्द्रदेखि प्रदेशसम्मको पावर सेयरिङमा प्रचण्ड ओलीसँग लिखित सहमति खोजेको थियो । ती सर्तहरूमा तीन नेताबिच मंगलबारको छलफलपछि राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र प्रधानमन्त्रीलाई बुधवार विश्वासको मत दिन अध्यक्ष नेपालले आफ्ना सांसदहरूलाई निर्देशन दिएका थिए । मंगलबार पाँच दलका नेताहरूबिचको छलफलमा यसअघिको चार दलको सहमति पत्र पुनर्लेखन गरेर पाँच दलको बनाउने तथा नीति तथा कार्यक्रममा समाजवादीका एजेन्डा थप्ने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए ।

‘तीन नेताहरु मिलेर जाने सहमति भयो’, आचार्यले भने, ‘यसअघि चार दलका नेताले हस्ताक्षर गरेको ८ बुँदे सहमति पुनर्लेखन र एकीकृत समाजवादीले उठाएका माग मुद्दा समेट्दै पाँच दलकातर्फबाट सार्वजनिक गर्न नेताहरू सहमत हुनुभएको हो ।’ तर आचार्यले नेता नेपाललाई प्रधानमन्त्री बनाउनेबारे कुनै सहमति भएको आफूलाई थाहा नभएको बताए ।

‘प्रचण्ड र ओलीबिच पनि प्रधानमन्त्रीबारे कुनै लिखित सहमति भएको छैन । नेपालसँग पनि भएको त्यस्तै हो’, आचार्यले भने, ‘प्रदेशतर्फको पावर सेयरिङका सवालमा प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सत्ता साझेदार दलबिच छलफल गरेर टुङ्ग्याउने कुरा भएको छ ।’

यसअघि फागुन २१ मा कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसहितको गठबन्धन बन्दा संसद्को बाँकी कार्यकाल प्रचण्ड र ओली दुई दुई वर्ष प्रधानमन्त्री बन्ने दुई नेताबिच सहमति भएको बताइएको थियो । तर फेरिएको सत्ता समीकरणमा नेता नेपालको पार्टी महत्त्वपूर्ण हुने भएपछि उनलाई फकाउन प्रधानमन्त्री प्रचण्ड र केपी ओलीले पटक पटक भेटवार्ता गरेका थिए । ती भेटहरूमा पनि अध्यक्ष नेपालले सत्ताको पावर सेयरिङमा आफ्नो स्पष्ट भूमिका खोज्दै आएका थिए । गत शनिवार पनि एमाले अध्यक्ष ओली र नेता नेपालबिच होटेल बसेरामा गोप्य भेटवार्ता भएको थियो । सो भेटमा दुई नेताबिच विगतका तिक्तता मेटाउँदै कार्यगत एकता हुँदै पार्टी एकतासम्म पुग्न सकिनेबारे छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्