माओवादीको गण्डकी प्रदेश मुख्यमन्त्रीमा दाबी
पोखरा,२८ फागुन । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सत्ता घटक दल नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि आवश्यक पहल गर्ने अनौपचारिक निर्णय गरेको प्रमुख सचेतक कुसुम बुढाले जानकारी गराईन ।
‘औपचारिक निर्णय होइन । तर मुख्यमन्त्री माओवादीले पाउनुपर्छ भन्ने दाबी हाम्रो छ,’ उनले भनिन्, ‘केन्द्रसँग निरन्तर संवाद भइरहेको छ । गण्डकी हामीले नै पाउने आश्वासन पाएका छौं ।’
सोमबार नै गण्डकीको मुख्यमन्त्री एमालेले चारै वर्ष चलाउने सहमति भएको हल्ला बाहिरिएको छ । तर दलका नेता हरिबहादुर चुमानले अहिले माओवादीले नेतृत्व पाउनुपर्ने अडान राखेका छन् । माओवादीकै समर्थनमा २ कार्यकाल एमाले र २ कार्यकाल कांग्रेसले सरकारको नेतृत्व गरिसकेको छ । ‘हामीले कांग्रेसलाई पनि सघायौँ, एमालेलाई पनि सघायौँ । अब त स्वाभाविक रूपमा माओवादीले नेतृत्व पाउनुपर्छ,’ उनले भने, ‘केन्द्रले पनि हुन्छ भनेको छ । हामीले पाउनेमा ढुक्क छौँ ।’
तर एमाले दलका नेता खगराज अधिकारीले सत्ता समीकरण फेरिने बित्तिकै काठमाडौँ पुगेर सत्ता सञ्चालनको आन्तरिक गृहकार्य गरेर आएको बुझिएको छ । उनका अनुसार सरकारको नेतृत्व एमालेले नै पाउने लगभग पक्कापक्की छ । उनले आइतबार दलको बैठक राखेर केन्द्रमा भएको छलफलबारे सांसदहरूलाई ब्रिफिङ पनि गरे । ‘गण्डकीको नेतृत्व एमालेले नै गर्ने कुरा आयो । उहाँले त्यही जानकारी दिनुभयो,’ अधिकारीको जानकारीलाई उद्धृत गर्दै एक सांसदले भने ।
एमालेको बैठक बसेको भोलिपल्ट माओवादीले बैठक राखेर सरकार गठनमा सहजताका लागि दलहरूलाई आह्वान गरेको छ । एमालेकै शैलीमा माओवादीले पनि सबै संवाद र छलफलको अधिकार दलका नेतालाई दिएको छ भने सहज रूपमा नयाँ सरकार गठनका लागि आह्वान गरेको छ । त्यसैले सरकार अल्पमतमा परेकोले दीर्घकालीन असर पर्ने निर्णय नगर्न एमालेले झैँ सचेत गराएको छ ।
प्रतिक्रिया दिनुहोस्