राष्ट्रिय सभा अध्यक्ष उम्मेदवार युवराज शर्मालाई बनाउने कांग्रेसको निर्णय

काठमाडौं,२७ फागुन । राष्ट्रिय सभा अध्यक्ष पदको लागि फागुन २९ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट राष्ट्रिय सभा सांसद युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय भएको महामन्त्री गगन थापाले जानकारी दिए ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार अपराह्न बसेको संसदीय दल कार्यसमिति बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा सदस्य रहेका शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

७३ वर्षीय शर्मा कांग्रेस बाँकेका पूर्वसभापति हुन् भने २०७८ माघमा भएको राष्ट्रिय सभा चुनावबाट राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रिय सभा अध्यक्ष चुनावका लागि सोमबार मनोनयन दर्ताको कार्यक्रम छ । राष्ट्रिय सभामा कांग्रेसका १६ जना सांसद छन् ।

राष्ट्रिय सभा अध्यक्ष पदका लागि गठबन्धन टुट्नु अघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आकांक्षी थिए । उनलाई सभापति देउवाले शनिबार राष्ट्रिय सभा दल नेता मनोनीत गरेका थिए । सत्ता गठबन्धन परिवर्तन भएसँगै सिटौला राष्ट्रिय सभा अध्यक्ष पदका लागि उम्मेदवार हुन इच्छुक भएनन् ।

 

प्रतिक्रिया दिनुहोस्