सर्वोत्तम सिमेन्टको आइपीओ भोलि बिहान बाँडफाँड हुने, अधिकाँशको हात खाली

काठमाडौं,२४ फागुन । सर्वोत्तम सिमेन्टको आइपीओ भोलि शुक्रबार बाँडफाँट हुँदैछ । आइपीओ बाँडफाँट बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका नक्सालमा शुक्रबार बिहान १० बजे हुने भएको छ ।

सर्वोत्तमको आइपीओमा मागभन्दा १९.३२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । यसमा १० लाख १२ हजार ३८४ जनाले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ताका लागि आवेदन दिएका छन् । जस मध्ये ५५ हजार ५२१ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी साढे ९ लाख जनाको भने हात खाली हुनेछ ।

सर्वोत्तमले पहिलो पटक बुक बिल्डिङमार्फत सर्वसाधारणलाई फागुन १३ गतेदेखि १६ गतेसम्म कुल २७ लाख ७६ हजार ७६ कित्ता आइपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको थियो । सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँमा आइपीओ जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्