विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री भ्यागुतो जस्तो बुर्लुक्क उफ्रिनुहुन्छः डा. सिके राउत

काठमाडौं,२४ फागुन। जनमत पार्टीका अध्यक्ष सिके राउतले गठबन्धन फेरबदललाई ‘भ्यागुते प्रवृत्ति’ को संज्ञा दिएका छन्।

बिहीबार संसदमा बोल्दै राउतले विदेशीले धाप मार्नासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्यत्र गठबन्धन गरिहाल्ने प्रवृत्ति देखाएको आरोप लगाए।

‘यो भ्यागुते प्रवृत्ति हो, भ्यागुतालाई समातेर जोख्न सजिलो होला। अहिलेको प्रधानमन्त्रीलाई त्यति कमसल नठान्नुहोला ! कतिखेर विदेशीले कता धाप मार्दिन्छ, प्रधानमन्त्री बुर्लुक्क उफ्रिइहाल्नुहुन्छ। थाहै हुँदैन,’ उनले भने, ‘यो उफ्राइले काठमाडौंमा मात्रै परकम्प गएको छैन। यहाँ मात्रै गए त केही थिएन। सात वटै प्रदेशका सरकारहरू गल्र्यामगुर्लम ढल्छन्। अनि जनताले यातना भोग्नुपर्ने, देशले यातना, घाटा व्यहोर्नुपर्ने, उहाँले भन्नु पनि हुन्छ– म मिस्टर उथलपुथल हो। म बाँच्दासम्म यो धर्तीमा उथलपुथल भइरहन्छ। मानौं, उहाँ शेष नाग हो र धर्ती उहाँको शरीरमाथि अडिएको छ। हरेक शेष नागका लागि कृष्णको अवतार पनि हुन्छ। उहाँले हेक्का राख्नुपर्छ।’

उनले जनमत प्रतिपक्षमा रहने पनि बताए।

‘हामी प्रतिपक्षीमा रहौंला, तर हाम्रो भूमिका रचनात्मक नै रहनेछ। विश्वस्त हुनुहोस् भनेर आग्रह गर्न चाहन्छु,’ उनले भने।

अहिलेको गठबन्धन सिद्धान्तको धरातलमा बनेको आफूले ठानेको तर प्रधानमन्त्रीको आजको सम्बोधनले त्यसको खण्डन गरेको बताए।

रातारात के भएछ जसले गठबन्धन नै फेर्नुपर्ने, घटक दललाई नै फेर्नुपर्ने अवस्था आयो? मैले त गहिराइमै होला भन्ने ठानेको थिएँ। एक दुई वटा कुर्सी नमिलेर, राष्ट्रिय सभाका भोट नआएर जस्ता प्रधानमन्त्रीको कुरा सुन्दा अत्यन्त हल्का लाग्यो। झन् धेरै क्रेडिट दिउँला सोचेको थिएँ। राजनीतिका लागि सकारात्मक रूपमा लिएको थिएँ। सैद्धान्तिक धरातलमा टेकेर वाम ध्रुवीकरण हुँदैछ। सिद्धान्तका आधारमा ध्रुवीकरण हुँदैछ, देश र जनताका लागि सुखद् कुरा हो भन्ने सोचेको थिएँ। तथापि म शुभकामना दिन चाहन्छु,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्