एन्फा विरुद्धको अन्तरिम आदेश खारेज, बैसाख २२ मा निर्वाचन हुने

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन रोक्न पाटन उच्च अदालतले दिएको अन्तरिम आदेश खारेज भएको छ। पाटन उच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना  र विष्णुप्रसाद कोइरालाको इजलासले एन्फाको निर्वाचन रोक्न दिइएको यसअघिको आदेश खारेज गरेको हो।

एन्फाले दर्ता गराएको भ्याकेट (बदर गर्न वा रद्द गर्न) निवेदनको  बुधबार सुनुवाइपछि यसअघिको अन्तरिम आदेश खारेज गरिएको हो। यसअघि एन्फाले निर्वाचन रोक्न जारी भएको अन्तरिम आदेश विरुद्ध पाटन उच्च अदालतमा भ्याकेट निवेदन दर्ता गराएको थियो।

अन्तरिम आदेश खारेजीसँगै अब एन्फाको केन्द्रीय समितिको निर्वाचन बैसाख २२ हुने भएको छ। एन्फाको निर्वाचन समितिको गत आइतबार बसेको बैठकले उच्च अदालत पाटनमा परेको मुद्दा सल्टिएको अवस्थामा बैसाख २२ मा निर्वाचन गर्नसकिने निर्णय गरेको थियो।

आगामी निर्वाचनमा एन्फाका पूर्वउपाध्यक्ष तथा हिमालयन शेर्पा क्लबका अध्यक्ष कर्माछिरिङ शेर्पा र एन्फाका वरिष्ठ उपाध्यक्ष मणि कुँवरबीच प्रतिस्पर्धा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्