मन्त्रालय भागबण्डा टुंग्याउन गठबन्धनको शीर्ष नेताहरुको बैठक केहिबेरमा बस्दै
काठमाडौं, २१ फागुन । नयाँ सत्ता गठबन्धनका दलहरुबीच मन्त्रालय भागबण्डा टुंगो लगाउन केहिबेरमा बैठक बस्दैछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागबण्डा टुंगो लगाउन गठबन्धनमा सहभागी दल नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीको शीर्ष नेतालाई बालुवाटारमा बोलाएका छन् ।
अहिले गठबन्धनमा रहेका शीर्ष नेताहरुसँग छलफल हुँदैछ, त्यो बैठकले मन्त्रालय टुंगो लगाउने छ ।
सोमबार नै बिहान बसेको सत्ता गठबन्धनमा सहभागी दलको बैठकले मन्त्रालय बाँडफाँटको खाका बनाउन एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका वर्षमान पुन, रास्वपाका रवि लामिछाने र जसपाका उपेन्द्र यादवलाई जिम्मा दिएको थियो ।
उनीहरुले तयार गरेको खाकामाथि शीर्ष तहमा छलफल हुनेछ । मन्त्रालय भागबण्डामा सहमति जुटाउने तयारी भए पनि सोमबार भने तीन जनाले मात्र बिना बिभागीय मन्त्रीको शपथ लिनेछन् ।
राष्ट्रपति कार्यालयलाई पाँच बजेभित्र शपथको व्यवस्था गर्न प्रधानमन्त्री प्रचण्डले सूचना पठाएका बालुवाटार स्रोतले बताएको छ । सोमबार एमालेबाट पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट डीपी अर्यालले शपथ लिने तयारी भएको बालुवाटार श्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्