त्रिपिटक वाचन शुरु



काठमाडौँ, २० फागुन । तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक वाचन समारोह आइतबारदेखि लुम्बिनीमा शुरु भएको छ।

अखिल नेपाल भिक्षु महासंघको करिब एक हजार बौद्ध धर्मावलम्बी सहभागी छन्।

यही फागुन २२ गतेसम्म संचालन हुने कार्यक्रममा नेपाल, भारत, श्रीलङका, म्यान्मा, थाइल्याण्ड, कोरिया, जापान लगायत एशियाली देशका भिक्षु, धर्मगुरु, अनुयायीलाई त्यसतर्फ पठाइएको हो । बुद्ध जन्मस्थल लुम्बिनीमा बौद्ध ग्रन्थ (त्रिपिटक) वाचन कार्यक्रममा अन्तर्राष्ट्रिय समुदायलाई बौद्ध तीर्थस्थल, बौद्ध शिक्षा, साहित्य तथा दर्शन, त्रिपिटकको महत्वबारे जानकारी गराउनुका साथै धार्मिक पर्यटनको प्रचार प्रसारका लागि त्रिपिटक बाचन गर्न लागिएको आयोजक समितिका कोषाध्यक्ष भिक्षु बोधिज्ञान महास्थविरले जानकारी दिनुभयो।विश्वशान्ति मानव कल्याणको उद्देश्यले मायादेवी मन्दिर तथा त्यस वरपर क्षेत्रमा बुद्ध धर्मको मूल ग्रन्थका रुपमा स्थापित त्रिपिटक वाचन गरिएको कार्यक्रममा बुद्ध वचनको संग्रह त्रिपिटकअन्तर्गतका विनय पिटक, सुत्र पिटक र अभिधर्म पिटकको वाचन हुने महासंघका पूर्व सदस्य भिक्षु तपस्वी धम्म जानकारी दिनुभयो ।
बौद्ध साहित्यमा दर्शन, अनुशासन र धार्मिक पक्षको समग्रतालाई त्रिपिटक भनिन्छ। यो
बौद्ध धर्मको मूल ग्रन्थ हो । हिनयान, महायान लगायत सबै सम्प्रदायका बौद्ध अनुयायीले अवलम्बन गर्ने यो ग्रन्थमा बुद्धको उपदेश सङ्ग्रहित छ ।

यो ग्रन्थ पाली भाषामा लेखिएको भएपनि धार्मिक प्रभाव अनुसार विभिन्न भाषामा अनुवाद गरिएको छ ।
ग्रन्थमा बुद्धले बुद्धत्व प्राप्त गर्दादेखि महापरिनिर्वाण हुनुअघिसम्म दिएका धार्मिक उपदेश तथा प्रवचन सङ्कलन गरिएको छ । बुद्धको महापरिनिर्वाणपछि बुद्ध बचनलाई एक सुत्रमा सङ्ग्रह गरिएपछि विभिन्न सम्प्रदायको विकास भएको पाइन्छ ।

यसैबीच महासंघले निर्माण गरेको भिक्षु आवास गृह सन्चालन गरिएको छ। महासंघका अध्यक्ष भिक्षु बोधिसेन महास्थविर र लुम्बिनी विकास कोषका उपाध्यक्ष लार्क्याल लामाले आवास गृहको उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्