चितवन घटना झुण्डिएर नै मृत्यु भएको पोस्टमर्टम रिपोर्ट

काठमाडौं, २० फागुन। चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ।

रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा १४ वर्षीया सालिन पोखरेल मृत फेला परेकी थिइन्।

पोष्टमर्टम रिपोर्टअनुसार उनको झुण्डिएर मृत्यु भएको देखिएको स्रोतले जानकारी दिएको छ।

फागुन १२ गते बिहान बोर्डिङको होस्टलमा बालिका मृत फेला परेकी थिइन्।

मृत्यु भएपछि मृतकका आफन्तले उनको हत्या र बलात्कार भएको भन्दै आएका थिए। त्यसपछि उनीहरूले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले प्रधानाध्यापकसहित तीन जनालाई पक्राउ गरेको थियो

प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्।

शव पोष्टमर्टमका लागि काठमाडौंस्थित महाराजगञ्ज शिक्षण अस्पतालमा ल्याइएको थियो। डा. गोपाल चौधरीसहित टोलीले पोस्टमर्टम गरेको थियो। प्रहरीले घटनास्थलबाट सुसाइड नोट पनि फेला पारेको थियो। उक्त नोटमा आफूले बाँच्न नचाहेको भन्ने विवरण उल्लेख गरिएको थियो। उक्त नोट पनि परीक्षणका लागि प्रहरीले पठाएको छ।

यो घटनाबारे आइतबार नै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले जिल्‍ला प्रहरी कार्यालय चितवनका एसपी भागेश्वर रिमाल र डिएसपी श्रीराम भण्डारीसँग ब्रिफ्रिङ समेत लिएका थिए। गृहमन्त्री श्रेष्ठले यसबारे फोनबाटै ब्रिफिङ लिएका हुन्।

प्रतिक्रिया दिनुहोस्