स्कुल बसको ठक्करबाट जनकपुरमा एकको मृत्यु

काठमाडौं, २० फागुन। जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।

दुर्घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीमा तिब्र गतिमा रहेको एन्जल्स सेकेन्डरी स्कुलको बसले हिँडिरहेकी एक जना महिलालाई ठक्कर दिएको हो।

प्रादेशिक अस्पताल जनकपुरका एक कर्मचारीका अनुसार बसको ठक्करबाट जनकपुरधाम उपमहानगरपालिका–२३ बिन्हीकी ३५ वर्षीया राखीदेवी यादवको मृत्यु भएको हो।

घाइतेहरूको विवरण भने आइसकेको छैन। जिल्ला प्रहरी कार्यालय धनुषाले समेत आधिकारीक रूपमा घटनाबारे बताएको छैन।

बस चालकको लापरबाहीले दुर्घटना भएको भन्दै स्थानीय आन्दोलित भएका छन्।

स्थानीयले दुर्घटनामा परेको बस तोडफोड समेत गरेका छन्। घटनास्थलमा अहिले स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन्।

गत माघ २५ गते पनि बिन्धीमै स्कुल बसले ठक्कर दिँदा एक जना साइकल यात्रीको मृत्यु भएको थियो। भारतको मधुवनी जिल्ला घर भई बेला बस्दै आएका २७ वर्षीय ममताज कवाडीको उक्त दुर्घटनामा मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्