शालिनको पोष्टमार्टम रिपोर्ट बलात्कार नभइ झुण्डिएका कारण मृत्यु

काठमाडौं,२० फागुन। चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको बलात्कार नभइ झुण्डिएको कारण मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी उच्च स्रोतले नेपाल जागरण मिडियालाई बतायो ।

आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको अनुन्धानमा खटिएका एक अधिकृतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार पोष्टमार्टमको प्रतिवेदन तयार भएकाले लिनलाई प्रहरी टोली काठमाडौं गएको र रिपोर्ट आइसकेपछि मात्र यस बिषयमा बताउन सकिने जनाए ।

स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । घटनाबारे गम्भीर छानबिन गरि आवश्यक कारवाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्