राष्ट्रिय सभाका २० सदस्यको पदावधि आजदेखि सकिँदै

काठमाडौं,२० फागुन । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सदस्यहरुको पदावधि आज (फागुन २० गते) बाट सकिँदैछ ।

आजबाट पदावधि सकिनेमा सबै भन्दा धेरै संख्या नेकपा एमालेको छ । जसमध्ये नेकापा एमालेका ८, नेपाली कांग्रेसका ४, नेकपा माओवादी केन्द्रका ३, एकीकृत समाजवादीका २ र जसपा, मनोनीत र स्वतन्त्र १/१ जना रहेका छन् ।

जस अनुसार एमालेबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल ९पार्वती०, नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई राष्ट्रिय सभाबाट विदा हुँदैछन् ।यस्तै, नेपाली कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्थको तथा माओवादीका विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदाइ हुँदैछन् । समाजवादीका नन्दा चापागाईं र सिंगबहादुर विश्वकर्मा, जसपाकी प्रमिला देवी, राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि आजै पदावधि सकिँदैछ ।

आज कार्यकाल सकिएका राष्ट्रिय सभाका सदस्यहरुको बिदाइ र नवनिर्वाचित सदस्यहरुको स्वागत हुँदैछ । निर्वाचित सांसदहरुले सोमबार शपथग्रहण गर्ने कार्यक्रम रहेको छ । रिक्त २० मध्ये १९ जनाको सदस्य गत माघ ११ मा सम्पन्न निर्वाचनबाट चुनिएका छन् भने १ जना मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्