एशियन लाइफको १६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं,१८ फागुन । एशियन लाइफ इन्स्योरेन्स लिमिटेडको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा होटल क्लासिक सिमरामा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको ७ दशमलव ७५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.४० प्रतिशत (१ करोड २८ लाख ७० हजार ३ सय ५ रुपैयाँ बराबरको) नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९/८० एनएफआरएस बमोजिम आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण र सो सम्बन्धि संलग्न अनुसूचिहरु माथि छलफल तथा पारित गरेको छ ।

सभाले सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने संचालक पदमा १ जनालाई नियुक्त गर्ने निर्णय गरिएकोमा सो को अनुमोदन गरेको छ । सभाले आर्थिक वर्ष ०८०/८१ को लागि लेखापरिक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम रु ५ अर्ब चुक्ता पूँजी पुर्याउन ७.७५  प्रतिशत बोनश शेयर वितरण पश्चात हुने चुक्ता पूँजीको ४२ प्रतिशतको अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । सभाले उल्लेखित बोनश शेयर वितरण र हकप्रद शेयर निष्काशन पश्चातको हदसम्म जारी तथा चुक्ता पूँजी वृद्धि गर्न स्वीकृती गर्ने छ ।

सभाले कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्न तथा सम्बन्धित निकायबाट प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन तथा प्राप्त हुने निर्देशन कार्यान्वयन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्