सरकारलाई २१ गते संसदमा उपस्थित भएर जवाफ दिन सभामुखको रुलिङ

१८ फागुन, काठमाडौं । सभामुख देवराज घिमिरले विपक्षी दलहरुले उठाएका विषयमा २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् ।

विपक्षी दलहरुले ६ फागुन पछि बालकुमारी घटना, मिटरब्याज र सहकारी पीडितको आन्दोलनलगायतका थुप्रै विषयमा सरकारको जवाफ माग्दै आएका छन् । तर सरकारले चित्तबुझ्दो जवाफ दिन नसकेको प्रतिपक्षी दलको आरोप लगाएका छन् ।

१४ फागुनको बैठकमा सभामुखले आगामी बैठकमा जवाफ दिन रुलिङ गरेका थिए । तर, शुक्रबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अनुपस्थित भए ।

संसद् बैठकको सुरुमै एमाले सांसद सूर्य थापाले प्रधानमन्त्री खोजी गरिदिन माग गरे भने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अब पनि चित्त बुझ्दो जवाफ नदिएमा संसद चल्न नसक्ने बताए ।

दुवै दलका सांसदहरु आ-आफ्नो स्थानमा उभिएपछि सभामुख घिमिरले मिति नै तोकेर २१ गतेको बैठकमा उपस्थित भएर जवाफ दिन रुलिङ गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्