संसद् भवनमा पसे आन्दोलनकारी, सुरक्षामा गम्भीर प्रश्न ?

काठमाडौं, १४ फागुन । सोमबार लघुवित्त ऋणीहरूले संघीय संसद् भवनमा प्रवेश गरेपछि सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न चिह्न खडा भएको छ । निषेधित क्षेत्रभित्र रहेको नयाँ बानेश्वरस्थित संसद् भवनमा लघुवित्त पीडितहरू प्रवेश गरेर प्रदर्शन गरेका हुन् ।

भित्र बैठक सञ्चालन भइरहेको बेलामा लघुवित्त ऋणीहरूले परिसरमै पुगेर नाराबाजी गरेका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले संसद् भवनको दुई नम्बर गेटबाट प्रदर्शनकारी भित्र छिरेको सूचना प्राप्त भएको बताए । लघुवित्त पीडितहरू सिफलमा बस्दै आएका थिए । उनीहरूले केही दिनयता काठमाडौँमा आन्दोलन गर्दै आए पनि आजका लागि कुनै कार्यक्रम तय भएको थिएन ।

सुरक्षा स्रोतका अनुसार विरोध प्रदर्शनका कार्यक्रम तय नभएपछि प्रहरीले पनि विशेष सुरक्षा योजना केही बनाएको थिएन । तर, एकाएक उनीहरू रणनीतिक रूपमा आन्दोलनका लागि संसद् भवन आउँदा प्रहरी नै अलमलमा परेको बताइएको छ ।

एक प्रहरी अधिकारीका अनुसार संसद् भवनको दुई नम्बर गेटमा प्रहरीको सङ्ख्या न्यून थियो । सोही क्रममा बस चढेका आएका आन्दोलनकारी एकाएक भित्र छिर्न भ्याइहाले भने प्रहरीले नियन्त्रण गर्नै भ्याएन ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले भने गेटमा प्रहरी कम भएको बेला भित्र छिरेको हुनसक्ने बताए ।‘आन्दोलनकारीहरू मौका छोपेर भित्र प्रवेश गरेको जस्तो देखिन्छ’, थप बुझ्ने काम भइरहेको छ’, उनले भने ।

स्मरणीय त के छ भने संसद् भवनमा प्रहरीको स्पेसल टास्क फोर्स खटाइँदै आएको छ । तर, पनि आजको घटनाले सुरक्षा व्यवस्थामाथि नै गम्भीर प्रश्न उठेको जानकारहरू बताउँछन् ।

लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेको भन्दै प्रदर्शनकारी पैदल हिँडेरै काठमाडौँ आएका थिए । संसद् पसेपछि उनीहरूले आफूहरू गोली खान पनि तयार रहेको भन्दै सुतेर विरोध जनाएका थिए । यो क्रममा तीन दर्जन भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्