छानबिनमा परेका, जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदलाई घर पठाऔं: सांसद गगन थापा
काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका, सरकारी जग्गा हिनामिनामा मुछिएका, नागरिकता र सहकारी ठगीमा विवादित मन्त्री र सांसदहरुलाई घर पठाउन आग्रह गरेका हुन् ।
‘अब यसो गर्न लगाऔं– आसन (सभामुखको आसन)को दाँया बस्ने होस् कि बाँया बस्ने होस् । काखैको होस् कि पाखैको होस् । अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालको झण्डा छोपेर घर पठाइदिऔं’ सांसद थापाले भने ।
उनले अगाडि भने, ‘अनि सहकारी ठग्ने र दुई चार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होइन घरै पठाइदिएर अनुसन्धान गर्न लगाऔं । यति गर्न सके के होला ? निर्दोष भएर फर्किएर आउनुहोला फूल माला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड ब्यहोर्नुहोला ।’ सांसद थापाले भने यति गर्न सके बल्ल संसदमा मिटरब्याज पीडितको बारेमा, दूधको मूल्यको बारेमा, एनसेलको प्रतिवेदनको बारेमा जमेर सार्थक छलफल गर्न सकिने छ । संसाद थापाले अन्यथा संसदमा दोहोरी चलिरहने धारणा राखे । यसले गर्दा आरोप र प्रत्यारेपमा नै संसदको महत्वपूर्ण समयमा वर्बाद भएको उनको तर्क छ । यसप्रसत समयमै सिंगो सदनकने ध्यान जानु जरुरी छ ।
प्रतिक्रिया दिनुहोस्