कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु, उपसभापति खड्काको नीति प्रस्ताव पेश

काठमाडौं, ८ फागुन। नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्र सुरु भएको छ । सोमबार उद्घाटनसत्रसँगै सकिएको महासमितिको बैठक आज बिहान ९ बजेदेखि बन्दसत्र सुरु भएको हो । बैठकमा छलफलका लागि उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेश गरेका छन् ।

उनले केन्द्रीय सदस्यहरूका सुझाव समेटेर उक्त नीति प्रस्तावलाई अन्तिम रूप दिएका थिए। ६५ पृष्ठको नीति प्रस्ताव गत बिहीबार केन्द्रीय समितिमा पनि पेश गरेका थिए।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीका उपसभापति एवं उपप्रधानमन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत नीति प्रस्तावसँगै, महामन्त्री गगनकुमार थापाद्वारा प्रस्तुत साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माद्वारा प्रस्तुत समसामयिक राजनीतिक प्रस्ताव पनि पेस हुनेछ ।

यस्तै पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक अवस्था,सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव र लेखा समितिका संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन प्रस्ताव पेस गर्न लागेको पार्टीका सूचना, सञ्चार तथा प्रचार विभागका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

बैठकमा पेस भएका प्रस्तावबारे महासमितिको बैठकमा छलफल गरी पास हुनेछन् । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सोमबारदेखि सुरु भएको महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।

कांग्रेसको महासमिति बैठकमा भाग लिनका लागि देशैभरका महासमिति सदस्य र विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि काठमाडौँ आइपुगेका छन् । बैठकमा दुई हजारभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको छ ।

आज बिहान ९ बजेदेखि सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति प्रतिवेदन, महामन्त्री गगन कुमार थापाको सांगठनिक प्रतिवेदन, अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदनमाथि छलफल हुन लागेको हो ।

बैठकमा अर्थमन्त्री समेत रहेका डा। प्रकाशशरण महतको अर्थतन्त्रको वर्तमान अवस्था र चुनौतीबारे र श्याम घिमिरेको लेखा सम्बन्धी प्रतिवेदन पनि पेश हुनेछन् ।

महामन्त्री थापाको प्रतिवेदनलाई गएराति अन्तिम टुंगो लगाइएको थियो । देउवा निवास बुढानीलकण्ठमा भएको छलफलमा छलफलमा चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव महासमिति बैठकमा लैजाने सहमति जुटेको एक नेताले बताए ।

प्रस्तावहरुमाथि छलफल गर्न ‘तराई, पहाड, मधेश, हिमालबाट प्रतिनिधित्व हुने गरी समूह बनाइनेछ,’ प्रचार प्रसार उपसमिति संयोजक विश्वकर्माले भने, ‘६० प्रतिशत प्रतिनिधिले बोल्न पाउने अवस्था हुन्छ ।’

नेपाली कांग्रेसको महासमिति बैठक ललितपुरको गोदावरीमा सभापति देउवाले सोमबार उदघाटन गरेका थिए । नीति महाधिवेशनको रुपमा समेत लिइएको महासमिति बैठक फागुन १० गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्