जिबी राई सहकारी ठगी प्रकरणको अनुसन्धान गर्न सिआइबी टोली पोखरा
काठमाडौं, ७ फागुन। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोली पोखरा पुगेको छ।
सिआइबीले प्रहरी निरीक्षकको कमाण्डमा प्राविधिक टोली पोखरा पठाएर अनुसन्धान थालेको प्रहरी स्रोतले जानकारी दिएको छ।
माघ २४ गते ग्यालेक्सी टेलिभिजनका पूर्व साझेदार एवं पूर्वडिआइजी छविलाल जोशीको घरमा छापा मारेको थियो।
छापा मारेर प्रहरीले उनको घरबाट चारवटा सर्भर बरामद गरेको थियो। उक्त सर्भरमा भएका सूचनारविवरणहरू निकाल्नका लागि सिआइबीको सहयोग लिइएको स्रोत बताउँछ। सिआइबीको टोलीले यसमाथि काम गरिरहेको छ।
प्रहरीले छापा मारेको जोशीको घरमा कुनै समय सहकारीका अध्यक्ष जिबी राईले सञ्चालन गरेको नेचर हर्ब्स प्रालिको कार्यालय थियो।
सहकारी ठगीमा पक्राउ परेका व्यक्तिहरूमाथि बयान लिएर प्रहरी त्यस घरमा पुगेको हो। त्यहाँबाट महत्त्वपूर्ण दस्तावेजहरूको विद्युतीय अभिलेख फेला पारेको प्रहरीले जनाएको छ।
पूर्वडिआइजी जोशी ग्यालेक्सी टेलिभिजन चलाउने गोरखा मिडिया नेटवर्कका संस्थापक थिए। त्यसमा जिबी राईको ५० प्रतिशत र पूर्वडिआइजी जोशीको नाममा ३५ प्रतिशत शेयर थियो।
गोर्खा मिडियाको नाममा सूर्यदर्शन सहकारीबाट धितोबिना १ करोड, अर्कोपटक १ करोड ३० लाख ८९ हजार ऋण दिएको फेला परेको थियो।
सहकारीबाटै नेचर हर्ब्स, नेचर नेक्स्ट लगायतलाई पनि करोडौं रूपैयाँ ऋण दिएको छानबिन प्रतिवेदनबाट खुलेको थियो।
यस ठगी प्रकरणमा प्रहरीले इन्टरपोलमार्फत् जिबी राई, थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरूद्ध डिफ्युजन नोटिस जारी गरेको छ।
यस्तै जिबीविरूद्ध प्रहरीले रेड नोटिस जारी गर्ने तयारी गरेको छ। त्यसमा कास्की प्रहरीले कागजात मिलाउने काम गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस्