प्रधानमन्त्रीको परीक्षाको घडी आयो, बालकुमारी घटनालाई हामी सामान्य रूपमा लिँदैनौंः लामिछाने

काठमाडौं, ६ माघ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दुई जना युवाको ज्यान जाने गरी भएको बालकुमारी घटनालाई आफूहरूले सामान्यरूपमा नलिएको बताउँदै प्रधानमन्त्रीको परीक्षा भएको बताए।

आइतबार संसद बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गरे।

‘देशमा रोजगारी नपाएर विदेशमा रोजगारी गरी आफ्नो परिवार पाल्छु भनेर जान खोजेका वीरेन्द्र शाख र सुजन रावत दिनदहाडै गोली हानी हत्या गरियो, दस–दस लाख दिएर सरकार चुपचाप बस्यो। र, अहिले छानबिन समितिले निष्कर्ष पनि निकाल्यो, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई नै दोषी रहेको भनेको छ, जुन भन्दै आएका पनि थियौं। जुन प्रतिवेदनले पनि स्पष्ट पार्‍यो। त्यति स्पष्ट पारिसक्दा पनि न सम्बन्धित मन्त्रीले आफ्नो नैतिकताको प्रदर्शन गर्नुभएको छ। न सरकार, न प्रधानमन्त्रीले कुनै छनक देखाउनु भएको छ,’ उनले भने।

यसमा गर्नुपर्ने के होला, छानबिन आयोगले दोषी ठहर्‍याउँदा ठहर्‍याउँदै पनि त्यसबारे चुइँक्क नबोलेर अन्य विषयमा भाषण दिँदै जाने नैतिकता कहाँबाट प्राप्त हुन्छ? भन्दै सभापति लामिछानेले प्रश्न गरे।

उनले यसबारे प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने बताए।

उनले प्रमाण कहीँ कतै नभेटेका मानिसहरूलाई सरकारले नक्कली प्रमाण बनाएर भए पनि, नक्कली उजुरी बनाएर भए पनि पक्राउ गर्न दबाब दिएको बताए।

‘जसरी पनि समात, जसरी पनि थुन्न खोज भनेर दबाब दिन लागिरहने, छताछुल्ल प्रमाण भएका मानिसहरूलाई वरपर लिएर हिँडिरहने हो भने विधिको शासनबारे नबोले पनि हामी बुझ्दछौं– गठबन्धनको पीडा, हामी बुझ्दछौं प्रधानमन्त्रीसँग जम्मा ३२ सिट भएको पीडा तर हामी यो पनि बुझ्दछौं कि, नेपाली जनताले भोग्नुपरेको पीडा कसैको सत्ता टिकाउनका लागि आधार नबनोस्, रास्वपाले रचनात्मकरूपमा सरकारले गरेको राम्रो कामको सदैव सम्मान गर्दै आएको छ,’ उनले भने।

सरकारले आफ्ना वरपर भएका मानिसलाई बचाउनका निमित्त प्रयास गरिरहेको सभापति लामिछानेको आरोप छ। उनले वरपर नभएकालाई फसाउने प्रयास गरिएको गन्ध आएको हुनाले सदनको ध्यानाकर्षण गराएको बताए।

‘सरकारले फाइल खोल्ने हो भने हाम्रो दलबाट म हुँदै सबै सांसदहरूबाट सुरू गरोस्, ठीक छ। तर अरूको फाइल सरकारले नखोलोस्। सरकारले फाइल खोल्ने भनेको आफ्ना मानिस बचाउनका लागि रहेछ? त्यसकारण म प्रधानमन्त्रीलाई भन्न चाहन्छु– भ्रष्टचार लगायतका फाइल रास्वपाबाट खोल्न सुरू गरोस् अन्य दलको नखोलोस्,’ उनले भने।

उनले ललिता निवास, सुन काण्ड, नक्कली भुटानी शरणार्थीमा आफ्ना वरपरका मानिस जोगाइएको बताए।

‘आफ्ना मानिसको अनुहार आउनेबित्तिकै बन्द गर्ने र मुद्दा कमजोर बनाएर अदालतलाई फैसला गर्नका निम्ति गाह्रो बनाइदिने अनि न्यायालय बदनाम बनाइदिने, न्यायालयले गर्‍यो, हामीले त होइन भन्ने, अनुसन्धान गर्दैगर्दाका मानिस सरूवा गर्ने,’ उनले आक्रोश पोखे।

उनले अनुसन्धान, मिडिया ट्रायल सबै रास्वपाबाट सुरू गर्न आग्रह गरे।

‘हामीबाटै गरियोस्, २१ जना सांसद तयार छन्। सम्पूर्ण छानबिन गरियोस्, कहाँ बोलाउने हो खडा गरियोस्, अन्य फाइल नखोलियोस्, सरकारको नियतमा ठूलो शंका भयो,’ उनले भने, ‘दुई जना युवाले ज्यान गुमाएको घटनालाई रास्वपा समान्य रूपमा लिन चाहँदैन, के गर्ने हो प्रधानमन्त्रीले आज यही रोष्ट्रममा उभिएर यही सार्वभौव संसद्मा उहाँले देखाएको प्रतिबद्धताअनुरूपको काम गर्नूहोस्। आज प्रधानमन्त्रीको जाँच हुनेछ। प्रधानमन्त्रीले त्यो रोष्ट्रममा उभिएर भन्नुहुनेछ। हाम्रो केही पनि माग छैन। प्रतिवेदनले भनिसकेको छ।’

प्रतिक्रिया दिनुहोस्