नेपाली कांग्रेसको महासमिति बैठक सोमबारदेखि सुरू हुँदै

काठमाडौं, ६ माघ । नेपाली कांग्रेसको महासमिति बैठक भोलि (सोमबार) देखि सुरू हुँदै छ।

सभापति शेरबहादुर देउवाले ललितपुरको गोदावरीस्थित सनराइज हलमा सोमबार दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । यसको व्यपक प्रचार÷ पसार पनि गएिको छ । महासमिति बैठकमा प्रस्तुत गरिने राजीतिक प्रतिवेदन पनि तयार भई प्रकाशन हुँदैछ ।
महासमितिका लागि तयारी अन्तिम चरणमा पुगेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

उनकाअनुसार महासमिति बैठकबारे जानकारी दिन आइतबार दिउँसो साढे २ बजे गोदावरीमै पत्रकार सम्मेलन हुनेछ।

महासमिति बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्ताव पेश हुनेछ। खड्काले नीति, थापाले सांगठनिक र शर्माले समसामयिक राजनीतिक प्रस्ताव छलफलका लागि पेश गर्नेछन्।

‘उपसभापतिको प्रस्ताव छपाइका लागि प्रेसमा दिइसकिएको छ,’ उनले भने, ‘महामन्त्रीद्वयको बाँकी छ।’

महासमिति बैठकका लागि विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ११ जनाका दरले प्रतिनिधि आउँछन्। पदाधिकारी, केन्द्रीय सदस्यहरू, निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रतिनिधि, जनसम्पर्क समितिबाट प्रतिनिधिहरू सहभागी हुन्छन्।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरेर महासमिति सदस्य नरहेका प्रदेश सभापतिहरू, जिल्ला सभापतिहरू, भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुखहरू पनि आमन्त्रित सदस्यका रूपमा बैठकमा भाग लिन पाउँछन्।

महासमिति सदस्यले केन्द्रीय कार्यालय सानेपामा फोटो र तीन हजार रुपैयाँ बुझाएर प्रवेश पत्र लिनुपर्ने हुन्छ। महासमिति बैठकमा उपस्थित हुनेहरूलाई कांग्रेसले खाना र खाजाको व्यवस्था गरे पनि आवासको व्यवस्थापन गरेको छैन।

कांग्रेसले कम्तीमा २५ क्षेत्रमा अझै महासमिति सदस्य छान्न सकेको छैन। छानेका काठमाडौं क्षेत्र नम्बर ३, दोलखा र ओखलढुंगामा विवाद देखिएको छ। कांग्रेस महासमिति बैठक नीति बनाउन केन्द्रित रहनेछ।

२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नीति अधिवेशन गरेको थिएन। नीति अधिवेशनको समेत काम गर्ने गरी अहिले महासमिति बैठक गर्न लागिएको हो। विधानअनुसार महाधिवेशन भएको वर्षबाहेक वर्षेनी महासमिति बैठक गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्