सर्वोत्तम सिमेन्टले स्थानीय बासिन्दालाई जारी गरेको आइपीओ बाँडफाँट

काठमाडौं,२ फागुन । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ बिधिबाट आयोजना प्रभावित स्थानीयलाई जारी गरेको आइपीओ बाँडफाँट भएको छ ।

यसमा आयोजना प्रभावित कुल १ हजार २२४ जना स्थानीय बासिन्दाले कुल २ लाख ४८ हजार ५०३ कित्ताका लागि मात्र आवेदन दिएका थिए । जसमध्ये १० अंकले भाग नजाने ३३ कित्ता सेयर रद्द गरी २ लाख ४८ हजार ४७० कित्ता सेयर बाँडफाँट गरिएको बिक्री प्रबन्ध ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

आवेदकहरु सबैले आफूले मागे जति सेयर पाएका हुन् । कम्पनीले पुस २५ गतेदेखि माघ २५ गतेसम्म नवलपरासी जिल्लाका स्थानीय बासिन्दाका लागि कुल ९ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेको थियो ।

यसआधारमा स्थानीयलाई जारी गरेको सेयरमध्ये ६ लाख ८१ हजार ५३० कित्ता सेयर बिक्री भएको छैन । स्थानीयले खरिद नगरेको उक्त सेयर सर्वसाधारणलाई थप गरी निष्कासन गरिने बिक्री प्रबन्धकले जानकारी गराएको छ ।

सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ सेयर भाउमा आइपीओ जारी गरेको हो ।

स्थानीय बासिन्दाले आइपीओ बाँडफाँटको नतिजा निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबलब आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धकहरु एनआइएमबि एस क्यापिटल र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सक्नेछन् । यस्तै, निष्कासनकर्ता कम्पनी सर्वोत्तम सिमेन्टको वेबसाइट र सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्