सिंगटी हाइड्रोको हकप्रद शेयरमा आजदेखि आवेदन खुला

काठमाडौं,२ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

अर्थात कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयर निष्काशन गर्न लागेको हो । यस अनुसार कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो । यस अनुसार पुस १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा फागुन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्