गण्डकीमा अफ्रिकन स्वाइन फिभरको प्रकोप बढ्यो, १७ हजार बङ्गुरको मृत्युसँगै ५० करोडको नोक्सान

काठमाडौं, २९ माघ । अफ्रिकन स्वाइन फिभरका कारण डेढ वर्षमा गण्डकी प्रदेशमा झन्डै १७ हजार बङ्गुर मरेका छन् । २०७९ साउन अन्तिम देखि हालसम्म १६ हजार ५ सय ४५ बङ्गुर मरेका तथ्यांक पशु सेवा निर्देशनालय गण्डकीले जनाएको छ । त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका हुन् ।

यो अवधिमा २ पटकसम्म रोग देखिएको निर्देशक प्रेरणा सेढाईंले जानकारी दिइन् । उनका अनुसार केही फार्म बाहेक सबैतिर रोग फैलिएको छ । शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता समस्या देखिएका उनले बताइन् । रोगी सुँगुर, बङ्गुर, जङ्गली बँदेलसँग सम्पर्कबाट सरेका छन् । होटल र भोजभतेरबाट ल्याइएका जुठो खानाले पनि यो समस्या बढेको छ, उनले भनिन्, गण्डकीमा निकै ठुलो क्षति भएको छ ।

उपत्यका लगायत विभिन्न ठाउँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोग पुष्टि
निर्देशनालयका अनुसार किसानको ५० करोड जति नोक्सान भएको छ । दोस्रो आउटब्रेकपछि कास्कीमा ५५, तनहुँमा ३०, लमजुङ १४, गोरखामा १३ वटा गरी १ सय १२ वटा बङ्गुर मरेका छन् । यसपालि क्षति कम छ । रोग नभएर होइन, बङ्गुर नै नभएर हो, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीका प्रमुख शम्भुराज पाण्डेले भने, रोग फैलिनुअघि ५० हजार हाराहारी बङ्गुर थिए । अहिले मुश्किलले ५ हजार छन् ।

उनले खोप नआउँदासम्म बङ्गुरको सङ्ख्या घटाउँदै लैजाने सुनाए । अहिले किसानको मनोबल गिरेको छ । उनीहरूलाई पुनः स्थापना गराउनुपर्छ, उनी भन्छन्, सरकारले बजेट विनियोजन गरेको छ । रोग नियन्त्रण नहुँदासम्म सङ्ख्या थप्न सकिँदैन ।

खासगरी कास्की, तनहुँ, गोरखा, नवलपुर लगायत जिल्लामा बङ्गुर पालन बढी छ । सरकारले अफ्रिकन फिभरका कारण बङ्गुर मरेका किसानलाई प्रतिगोटा ४ हजार रूपैयाँ पाठा किन्न सहयोग गर्ने जनाएको छ । रोग लागेपछि बङ्गुर मर्ने दर सत प्रतिशत छ । तथ्याङ्क भन्दा अरू बङ्गुर पनि मरेका छन्, वरिष्ठ पशु विकास अधिकृत बालकुमार श्रेष्ठले भने, भ्याक्सिनले पनि काम गरेन । बिउ बाहेक सबै सिद्ध्याउनुपर्ने अवस्था छ । बङ्गुर नबढाउन किसानलाई आग्रह गरेका छौँ ।

पछिल्लो समय बङ्गुर पालन र प्रयोग बढ्दो छ । सरकारले नै गण्डकीलाई मासुमा आत्मनिर्भर बनाउने घोषणा सहित कार्यक्रम सञ्चालन गरिरहेको छ । करोडौँ लगानी एउटै व्यवसायीले गरेका छन् । तर गण्डकीभरि बङ्गुरपालनमा कति लगानी छ भन्ने विवरण सरकारसँग छैन । प्रदेशले रामदी र मुग्लिनमा क्वारेन्टिन बनाउने भनेपनि अझै बनेको छैन । जसका कारण प्रदेश भित्रिने पशुहरू असुरक्षित छन् ।

प्रतिक्रिया दिनुहोस्