सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढ्यो

काठमाडौं, २९ माघ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले ७९ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६४.०६ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सको खुद बीमाशुल्क ३० करोड १ लाख रुपैयाँ थियो ।

खुद बीमाशुल्कसँगै इन्स्योरेन्सको खुद नाफा पनि बढेको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो नाफा ११७.३४ प्रतिशत बढेर ३६ करोड ९ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आम्दानी १३२ प्रतिशत बढेको छ भने खुद दाबी खर्च २२३.७९ प्रतिशत र कुल खर्च १४०.४५ प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ७२ पैसा रहेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ रुपैयाँ ४ पैसा बढी हो । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २६४ रुपैयाँ ३६ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.३१ गुणा रहेको छ ।

२ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ती कोषमा १७ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ७६ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्