हिमालयन रि इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं,२८ माघ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश र बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।

कम्पनीले फागुन २० गते, आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

त्यसैगरी, सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञालक समितिलाई अख्तियारी दिने, संस्थापकसमूहको तर्फबाट रिक्त रहेको पदका लागि एक जना सञ्चालक र सर्वसाधारण समूहको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्