पूर्व मन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन

काठमाडौं, २३ माघ। पूर्व सामान्य प्रशासन मन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ घर भएका बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको हो ।

नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार उनी २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्री बनेका थिए । एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त थिए । ‘उहाँमा निमोनियाको समस्या देखिएको थियो, त्यसपछि ब्लड प्रेसर पनि कन्ट्रोल हुन नसकेर त्यसले शरीरका भित्री अरु अंगमा पनि असर पुर्याएपछि केशव दाइ रहनु भएन,’ थापाले भने ।
बुढाथोकी पञ्चायतकालदेखि नै राजनीतिमा सक्रिय थिए । उनले ‘आफ्नो–आफ्नो सगरमाथा’ पुस्तक पनि लेखेका छन् ।

नेपाली कांग्रेस कोशी प्रदेशका सभापति थापाका अनुसार बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । दुवै छोरा र एक छोरी अष्ट्रेलियामा छन् । उनको पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा अन्त्येष्टि गर्ने तयारी छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुढाथोकीको निधनको खबरले निकै मर्माहत भएको भन्दै उनको आत्माको चिर शान्तिको कामना गरेका छन् । साथै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्