संसदमा खराब कानूनका विरुद्ध दह्रो रुपमा प्रस्तुत हुन्छौंः रास्वपा उपसभापति वाग्ले

काठमाडौं, २१ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले सोमबारदेखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी दह्रो रुपमा प्रस्तुत हुने बताएका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ । आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मेलम्ची आयोजनाको दबाब यात्राको उद्घाटन कार्यक्रममा सांसदले भने,‘भोलिदेखि संसद सुरु हुँदैछ । त्यहाँ हामीले एउटा ठूलो तयारीका साथ खराब कानुनहरुका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौं ।’

संसदमा प्रभावकारी हुनका लागि शुक्रबार लामो बैठक बसेको उनले सुनाए । वडा, पालिका, प्रदेशमा रास्वपाका जनप्रतिनिधि नभएको र संघमा सरकार बाहिर रहँदा समेत रास्वपाका सांसद नै बुलन्द रहेको उनले दाबी गरे । ‘हाम्रो उपस्थिति भनेको संसदको त्यही २० सांसदहरुले आवाज उठाइरहेका छौं’, वाग्लेले भने, ‘जनताका मुद्धाहरु उठाइरहेका छौं । सरकारलाई जवाफदेही बनाइरहेका छौं । मन्त्रीहरुलाई र्‍याखर्‍याक्ती पारिरहेका छौं ।’

संघ र प्रदेश गरी ८८४ सांसद रहेकामा सबैभन्दा सुनिने सांसद रास्वपाका २० जना रहेको वाग्लेले दाबी गरे ।

संसदीय फाँटबाट गरिरहेको लडाइँ अब सडकमा पनि उतार्ने तयारी पार्टीले गरिरहेको उनले सुनाए । सडकको दबाब यात्राले जनतालाई दुख नदिई शान्तिपूर्ण हुने उपसभापति वाग्लेले बताए । कसैको क्षति हानी नहुने गरी शान्तिपूर्ण रुपले दबाब दिने नयाँ अभ्यास सुरु गरेका छौं’, वाग्लेले भने ।

रास्वपाले संसदमा थप प्रभावकारी हुन सांसदलाई सुझाव सल्लाह दिन दुई उपसभापति डोलप्रसाद अर्याल र वाग्लेलाई जिम्मेवारी दिएको छ । सदनबाट राजनीतिलाई हेर्ने दृष्टिकोणका बारेमा सांसदहरुलाई प्रशिक्षित गर्ने जिम्मेवारी उपसभापति वाग्लेले पाएका छन् ।

आइतबार विहानबाट रास्वपाले मेलम्चीबाट दबाब यात्रा सुरु गरेको छ । दबाब यात्रा २१ चैतसम्म हुने रास्वपाले जनाएको छ । २१ आयोजनाका लागि दबाब यात्राको अगुवाइ गर्न २१ नेतालाई तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्