हुम्लामा हिमपात–चिसोका कारण जनजीवन कष्टकर
काठमाडौं,२१ माघ । हुम्लामा आज बिहानदेखि हिमपात भइरहेको छ ।
यस वर्ष जिल्लामा चौथोपटक हिमपात भएको हो । शनिबार दिउँसो घाम लागेको भए पनि राति एक्कासी मौसममा फेरबदल भई बाक्लो बादल लागेर आज बिहानदेखि हिमपात भइरहेको छ ।
बिहानदेखि हिमपात भइरहँदा सदरमुकाम सिमकोटमा एक इञ्च बढी हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा दुई इञ्च बढी हिउँ जमेको छ । लिमीमा अत्यधिक चिसो बढेकाले जनजीवन कष्टकर बनेको हो । चिसोले लिमीका स्थानीयलाई समस्या बनाएको बताए । चिसोका कारण घर बाहिर निस्कन र हिँडडुल गर्न समस्या भएकोछ ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमी, हिल्सा, नारालेख, यांगारलगायतका उच्च भागमा बाक्लो हिउँ जम्नुका साथै हिमपात भइरहेको छ । उत्तरी नाम्खा, सिमकोट, खार्पुनाथलगायत अधिकांश उच्च क्षेत्रमा बिहान हिमपात भइरहेको छ भने होचो स्थानमा पानी परिरहेको छ ।यसपटक लगातार दुई दिनपछि परेको हिमपातले जेठासी बाली गहुँ, जौ, उवालाई राम्रो हुनुका साथै कात्तिके बाली लगाउनमा सहयोग भएको स्थानीय बताउछन् ।
जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायातको साधन हवाई सेवा अवरुद्ध भएको छ । नेपालगञ्ज र सुर्खेतबाट गर्ने निजी एयरलाइन्सका सेवा अवरुद्ध भएको छन् । आज बिहानैदेखि हिमपात हुँदा नेपालगञ्ज, सुर्खेतबाट हवाई उडान हुन नसकेको हो भने हुम्लाबाट नेपालगञ्ज, सुर्खेत जाने यात्रु सिमकोटमै रोकिएका छन् ।
प्रतिक्रिया दिनुहोस्