सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात

काठमाडौं, १८ माघ  । सुदूरपश्चिम प्रदेशमा वर्षा र हिमपात भइरहेको छ । बिहीबार विहानदेखि कैलाली, कञ्चनपुरसहित प्रदेशका पहाडी जिल्लामा समेत वर्षा भइरहेको छ भने उच्च हिमाली तथा पहाडी भू–भागमा हिमपात भइरहेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रज्वल महर्जनका अनुसार दार्चुला, बैतडी, बझाङ, अछाम, बाजुरा, डोटी र डडेल्धुराका उच्च हिमाली तथा लेकाली भू–भागमा हिमपात भइरहेको छ ।

डोटीको खप्तड क्षेत्र, अछामको चौखुट्टे, बाजुराको सदरमुकाम मार्तडी, बैतडीको खोड्पे, ढोल्यामोड, अनारखोली, डडेल्धुराको भत्काँडा, दार्चुलाको सितापुल र बझाङका उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको जानकारी आएको छ ।

हिमपातसँगै वर्षा पनि भइरहेकाले पहाडी भू(भागमा चिसो बढेको छ । राजमार्ग क्षेत्रमा हिमपात भइरहेपनि अहिले नै सवारीसाधन आवागमनमा समस्या नभएको प्रहरीले जनाएको छ ।

यद्यपि निरन्तर हिमपात भएको खण्डमा भने राजमार्ग अवरुद्ध हुने सम्भावना रहेको छ । धर्तीको स्वर्ग भनेर चिनिने खप्तड क्षेत्रमा समेत हिमपात भइरहेको छ । खप्तड क्षेत्रमा बिहान नै तीन फिटसम्म हिउँ परेको छ । खप्तडको बगलेख र झिग्रानासम्म समेत हिउँ परेको छ ।

सुदूरपश्चिम प्रदेशमा यो हिउँदमा पहिलो पटक वर्षा र हिमपात भएको हो । पहाडी जिल्लामा हिमपात र वर्षा भएपछि हिउँदे बाली सप्रिने भन्दै किसानहरु भने खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्