निर्वाचन आयोगद्वारा राष्ट्रपति समक्ष प्रतिवेदन पेश, तीन विषयमा पोखे असन्तुष्ट

काठमाडौं, १५ माघ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रिय सभा चुनावको मतपरिणामलगायत प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई पेश गरेका छन्।

आइतबार शितल निवास पुगेर आयुक्त थपलियासहित आयोगका टोलीले गत माघ ११ गते भएको चुनावको प्रतिवेदन पेश गरेका हुन्। १९ सिटका लागि भएको चुनावबाट नेपाली कांग्रेसका १०, नेकपा माओवादी केन्द्रका ५, नेकपा एकीकृत समाजवादीका २, जसपाका एक जना र नेकपा ९एमाले० बाट एक जना उम्मेदवार विजयी भएका थिए। आयोगले पेश गरेको प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले आचारसंहिता लगायतका विषयमा राजनीतिक दलहरूसँग छलफल गरी आयोगले निर्वाचनलाई अझै स्वतन्त्र, धाँधलीरहित र निष्पक्ष बनाउनुपर्ने बताए।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलियाले तीन विषयमा असन्तुष्टि राखेका छन्। राष्ट्रिय सभा चुनावमा मतदान नगर्ने जनप्रतिनिधि, मत बदर र नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विराटनगरस्थित निवासमा चुनावको अघिल्लो दिन राखेको चियापानमा आयुक्त थपलियाले असन्तुष्टि जनाएको स्रोतको भनाइ छ।

राष्ट्रिय सभा चुनावमा काठमाडौं‌ महानगरपालिकाका मेयर बालेन शाह, धनगढी उपमहानगरका मेयर गोपाल हमाल र धरान उपमहानगरका मेयर हर्क साम्पाङले मतदान गर्न गएका थिएनन्।

त्यसप्रति असन्तुष्टि जनाउँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपतिसँग भनेका छन्, ‘आफू निर्वाचित हुनका लागि अर्काको मत खोज्ने तर आफूले अरूलाई मतदान गर्न सहभागी नहुने प्रवृत्ति लोकतन्त्रका लागि घातक हुन्छ।’ राष्ट्रिय सभा चुनावमा प्रदेश सभा सदस्यहरू र स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरू मतदाता हुन्छन्। मतगणनाका क्रममा कतिपय ठाउँमा मत बदर भएको पाइएको थियो। मतदाताहरूले मत बदर हुने गरी संकेत गरेकोमा पनि प्रमुख निर्वाचन आयुक्त असन्तुष्ट देखिएका छन्।

साथै कांग्रेस नेता शेखर कोइरालाले निवास विराटनगरमा गत माघ १० गते ९मौन अवधि चलिरहेका बेला० गरेको चियापानलाई लिएर पनि आयोगले असन्तुष्टि जनाएको छ। कोइरालाले राष्ट्रिय सभा सदस्य उम्मेदवार रहेका कृष्णप्रसाद सिटौलासहित कोशी प्रदेश सभा सदस्यहरू र स्थानीय तह प्रमुख तथा उपप्रमुखलाई चियापानमा निम्त्याएका थिए। आयोगले प्रमुख जिल्ला अधिकारीलाई यसबारे प्रतिवेदनसमेत पेश गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्