नेपालगञ्ज विमानस्थल २ दिनदेखि बाक्लो हुस्सु र शीतलहरका कारण अवरुद्ध
काठमाडौं, १४ माघ । नेपालगञ्ज विमानस्थलबाट काठमाडौं, पोखरा तथा हिमाली तथा पहाडी जिल्लाहरूमा हुने उडान दुई दिनदेखि अवरुद्ध भएको छ । बाक्लो हुस्सुका कारण शनिबार बिहानदेखि उडान हुन नसकेको नागरिक उड्डयन कार्यालय नेपालगञ्जले जनाएको छ ।
हवाई उडानका लागि १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने भए पनि ७।८ मिटर मात्रै भिजिबिलिटी भएका कारण उडान हुन नसकेको हो । उडान अवरुद्ध भएपछि यात्रुहरु मौसम खुल्ने आशमा विमानस्थलमै बसिरहेका छन् ।
दुईदिनदेखि उडान अवरुद्ध हुँदा करिब एक हजार यात्रु नेपालगञ्जमा रोकिएका छन् । उपचारका लागि काठमाडौं जाने यात्रु अझ बढी समस्यामा परेका छन् ।
नेपालगञ्जबाट काठमाडौंका लागि बुद्ध एयरका ३, श्री एयरका २ र यती एयरको १ वटा उडान हुँदै आएको छ । नेपाल एयर लाइन्स, समिट, तारा एयरले मुगु, जुम्ला, हुम्ला, डोल्पा र बाजुराका लागि नेपालगञ्जबाट उडान भर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्