त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतमाथि सांघातीक आक्रमण

काठमाडौं, १२ माघ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका एक अधिकृतमाथि सांघातीक आक्रमण भएको छ । डिपार्चरबाट अराइभलतर्फ आउनेक्रममा भएको चेकिङमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद उत्पन्न भएको हुँदा प्रहरीबाट यस्तो संघातिक आक्रमण भएको हो ।

‘प्रहरीले कहिले छामछुम मात्र गरेर पास गर्छ त कहिल्यै गर्दै गर्दैन । आज मेटल पास भइसकेपछि मोक्तान सर (छायाँलाल मोक्तान) लाई छामछुम गरेपछि सामान्य विवाद भयो । नजिकै रहेका ५ जनाको प्रहरीको हुल आएर उहाँलाई समातेर एउटा कुनामा लगेर सांघातिक आक्रमण भएको छ,’ विमानस्थल अध्यागमन स्रोतले भन्यो ।

घटनापछि अध्यागमनका कर्मचारीले प्रमुख गोगनबहादुर हमाललाई त्यहाँ बोलाएका थिए । हमाल, कुटाई खाने कर्मचारी र प्रहरीसहितको टोलीले सीसीटीभी फुटेज हेरे ।

‘सिसिटिभी फुटेज हेर्दा मोक्तान सरलाई निर्घात कुटपिट भएको देखियो । हमाल सरले यो त प्रहरीको दादागिरी भयो भन्दा पछाडिबाट उहाँ र अघि कुटाई खाएका मुक्तान सरमाथि फेरी हातपात भयो,’ अध्यागमन स्रोतले भन्यो ।

मुक्तानको शरीरमा निलडाम भएको र अहिले उपचार भइरहेको जनाइएको छ । त्रिवि अध्यागमन कार्यालय प्रमुख हमालले आफ्नो हातमा चोट लागेको र पछाडिबाट प्रहरीको टोलीले आक्रमण गरेको बताए । उनले थप बोल्न चाहेनन् ।

त्रिभुवन विमानस्थल प्रहरी कार्यालय प्रमुख अर्जुन चन्दले चेकिङका क्रममा विवाद भएको बताए । सुरुमा अध्यागमन अधिकृतले प्रहरीलाई लात्ति हानेपछि प्रहरीले पनि पिटेको उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्