राष्ट्रियसभा निर्वाचन सफलतापूर्वक सम्पन्न, ७ बजेसम्म मत परिणाम आउने

काठमाडौ, ११ माघ । राष्ट्रियसभा निर्वाचनको निर्वाचन शान्तिपूर्वक रुपमा सम्पन्न भएको छ । ७ वटै प्रदेशमा मतदान सकिएको छ । मतपरिणाम आज (बिहीबार) साँझ ७ बजेसम्म सार्वजनिक गर्ने निर्वाचन आयोगले तयारी गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका अनुसार आज साँझ ७ बजेभित्र सबै प्रदेशमा मतगणना सम्पन्न हुनेछ । यसको लागि ७ वटै प्रदेशमा मत गणना शुरु भैसकेको छ ।

प्रमुख आयुक्त थपलियाले भने, ‘मतगणना सम्पन्न गर्ने आयोगको लक्ष्य आजै साँझ ७ बजेसम्म तय गरेका छौँ । ७ बजेसम्म निर्वाचनको परिणाम सार्वजनिक गर्ने हाम्रो तयारी रहेको छ । मतगणना स्थलमा पनि छिटो गणना सम्पन्न गर्छौ भनेका छन् । ७ बजे भनेपनि ढिलोमा साढे ७ होला तर आजै सम्पन्न हुन्छ ।’

राष्ट्रियसभाको १९ सिटका लागि बिहीबार भएको निर्वाचन बिहान ९ बजेदेखि मतदान शुरु भएको थियो । दिउँसो ३ बजे सम्पन्न भएको छ । ७ प्रदेशमा रहेको मतदान केन्द्रमा शान्तिपूर्ण निर्वाचन सम्पन्न भएको आयोगले जनाएको छ । राष्ट्रिय सभामा १९ पदका लागि ५१ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्